वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।गृहजिल्ला चितवनमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको बताएका हुन् ।

तपाईंहरूले थाहा पाइसक्नुभएको छ, राष्ट्रिय सभामा लैजाने एउटा सीट जुन छ, त्यसमा सचिवालयको सर्वसम्मत निर्णयअनुसार गौतमलाई पठाउने सुझाव दिएको छ,प्रचण्डले भने, आधिकारिक निर्णय भएको हो, र सर्वसम्मत ढंगबाट भएको हो, प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नैपर्छ । युवराज खतिवडालाई अर्थमन्त्री बनाइराख्न अहिले नै राष्ट्रिय सभामा लैजानैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रचण्डले बताए ।

अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानैपर्छ भन्ने छैन, हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभामा नगएपनि ६ महिनाका लागि मन्त्री बन्न कुनै अप्ठ्यारो छैन,प्रचण्डले थपे ।प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने कुरा आफूले कल्पना समेत नगरेको प्रचण्डले बताए ।

प्रधानमन्त्रीले (वामदेवलाई) सिफारिश नगर्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ । उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो । गर्नुभएन भने के भन्नेतिर म अहिले जान चाहन्न, प्रचण्डले थपे, मलाई विश्वास छ, उहाँले आफ्नै अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत ढंगबाट गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्न ।

Loading...