खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्दै

काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताए ।

शाहीले भ्रष्टाचारको अत्य, रोजगारीको सिर्जना, स्वस्थ्य र शिक्षा निशुल्क, राजनीतिक शुद्धीकरण, राष्ट्रियताको संरक्षण र विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको सुनिश्चितता अधिकारको लागि अभियान सक्रिय बनाउने बताए । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, डाक्टर नारायण घिमिरे, डाक्टर नन्द काफ्लेलगायत रहेको शाहीले बताए । यस अभियानका संयोजक भने पूर्वडीआईजी रमेश खरेल हुन ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले डीआईजी पदबाटै राजीनामा दिएका थिए । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने शाही यसभन्दा अगाडि नेपालका लागि नेपाली अभियानमा थिए । तर अभिव्यक्ति र कार्यशैलीका कारण गत मंसिरमा उक्त अभियानबाट हटाइएको थियो ।

आफूहरुको एजेण्डाविरुद्ध शाही लागेको भन्दै अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले शाहीलाई हटाएका थिए । न्यौपाने र भण्डारीको समूह राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ । पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । यस अभियानमा अन्य सामाजिक अभियन्ताहरू पनि जोडिने बुझिएको छ ।

Loading...