काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो तीन दिनदेखि जारी हिंसाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । सोमबार रातिदेखि दिल्लीको उत्तरी क्षेत्रमा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा भएको प्रदर्शनले झडपको रुप लिएको हो ।
घाइतेहरुको उपचार भइरहेको गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले हिंसाका कारण मृत्यु हुनेको संख्या २० जनाको मृत्यु भएको जनाएको हो । अहिलेसम्म १८९ जना घाइते भएको अस्पतालले उल्लेख गरेको छ ।
अस्पतालमा आएका केहीको टाउकोमा चोट लागेको छ भने केहीलाई गोली लागेको छ । केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रबन्ध निर्देशक गौतमले बताएका छन् ।
लगातार हिंसा बढ्दै गएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले मंगलबार अबेर राति हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् । दिल्लीको उत्तर पूर्वी क्षेत्रको जाफराबादसहितका इलाकामा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा रहेकाहरुबिच भिडन्त भएको हो ।
जाफराबादमा विगत लामो समयदेखि महिलाहरुले सिएएविरुद्ध प्रदर्शन गर्दै आएका थिए । तर शतिबार राति केही प्रदर्शनकारीले जाफराबादको बाटो बन्द गरे । आइतबार धर्ना स्थलाबाट केही पर सिएएको समर्थनमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । त्यसपछि अवस्था तनावपूर्ण बनेको हो । सोमबारदेखि हिंसा सुरु भएको हो ।
सो क्षेत्रका कम्तिमा दुई मस्जिदमा तोडफोड भएको छ। केही बासिन्दाहरु ज्यान जोगाउनका लागि घर छोडेर भागेको खबर छ।