राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय, मन्त्री हेरफेरदेखि जबसका सम्मेलनसम्म हस्तक्षेप

काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका हकमा संविधान कहिल्यै लागु हुँदैन । न त राजतन्त्रकालीन समयमा लागु भएको थियो, न त आज लोकतान्त्रिक गणतन्त्रमा । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी यसको एक ज्वलन्त उदाहरण हुन् । विदेश भ्रमणदेखि स्वेदशमा अन्य देशका राष्ट्रप्रमुखहरुलाई निमन्त्रणा गर्दा उनी विल्कुल कार्यकारी भूमिकामा देखिन्छन । उनी त्यसखालको देशका लागि हित हुने कार्यकारी भूमिकामा मात्र होइन, पार्टी राजनीतिमा उनको सक्रियता अझ बढेको छ । पार्टीका शीर्ष नेताहरुको बैठक बसाल्नेदेखि टोल इकाई कमिटी निर्माणसम्म पनि राष्ट्रपति भण्डारीले हस्तक्षेप गरेको भन्दै उनकै पार्टीमा आपत्ती जनाउने गरिन्छ ।

यस्तै दृष्य देखियो शनिवार बसेको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा । पार्टी कार्यालय धुम्वाराहीमा स्थायी समिति बैठक चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही मन्त्रीहरुदेखि पार्टी स्थायी समिति सदस्यहरुलाई शितल निवासमा बोलाएर छुट्टै बैठक चलाइन । नेताहरु शंकर पोखरेल ,जनार्दन शर्मा, प्रदीप ज्ञवाली, देव गुरुङ, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडा, शक्ति वस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, विष्णु रिमाल शीतल निवास पुग्ने मध्येका नेताहरु थिए । राष्ट्रपति भण्डारीले यी नेताहरुलाइ स्थायी समिति बैठकमा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनका अंश अंश केलाएर आफ्नो व्याख्यान सुनाइन । साथै के के कुरा राख्ने भन्नेबारेमा पनि उनले सुझाइन । आफ्ना निकटका स्थायी समिति सदस्यहरुका कान भरेर उनले धुम्वाराहीमा पठाइन । शितल निवासबाट ज्ञानगुण पाएर स्थायी समिति सदस्यहरुको हूल धुम्वाराही कार्यालयमा एकैसाथ छिरेपछि भिम रावलसहितका नेताहरुले त्यसप्रति आपत्ती जनाए । यस विषयमा बैठकमा निकै चर्काचर्की समेत पर्यो । शितल निवास पुगेका राष्ट्रपति भण्डारीका प्रिय पात्र ठानिएका स्थायी समिति सदस्य तथा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले राष्ट्रपतिका बारेमा पार्टीमा प्रश्न गर्न नपाइने भने । तर, पार्टीमा आफ्ना कुरा सधै प्रष्टसँग राख्दै आएका नेता भिम रावलले के राष्ट्रपति संविधानभन्दा माथि हुन ? भन्दै प्रश्न गरे ।

राष्ट्रपति भण्डारीकै विषयमा नेकपाभित्र यस्तो चर्काचर्की शनिवार मात्र भएको होइन । न त भण्डारीले यस्तो हस्तक्षेप शनिवारको स्थायी समिति बैठकमा मात्र गरेकी हुन । उनले पार्टीको उच्च तहको बैठकदेखि पार्टीका जनवर्गीय संगठनहरुको राष्ट्रिय सम्मेलनहरुमा पनि हस्तक्षेप गर्ने गरेको नेकपाका नेताहरु बताउँछन । उनी आफू निकटका कार्यकर्ताहरुलाई सबैतिर परिचालन गरेर निकटका मान्छेहरुलाई नेता बनाउन लागि पर्ने गरेको बताइन्छ । जनवर्गीय संगठनका सम्मेलनहरुका बेला आफ्नो टिमलाई शितल निवासमा यसरी नै बोलाउने, टेलिफोन गरेर निर्देशन दिने र कतिपयलाई पैसा समेत दिएर आफ्नो भनेको टिमतिर लगाउन भूमिका खेल्ने गरेको नेकपाका एक नेता बताउँछन् ।

अनौठो त यो छ कि उनी पार्टीमा यसअघि कहिल्यै न त महासचिव भइन न त अध्यक्ष । महासचिव र अध्यक्ष भएका अरु नेताहरु पार्टीमा रहँदा पनि यस खालको हस्तक्षेप गरिरहेका छैनन । तर, राष्ट्रप्रमुख जस्तो भूमिकामा रहेर पनि उनी पार्टीका अध्यक्ष, महासचिवभन्दा सक्रियता देखाइरहेको देखिन्छ । पार्टीले कुनै जिम्मेवारी नदिएर पनि उनले आफैले आफूलाई पार्टीका पदाधिकारी र अध्यक्षभन्दा माथिल्लो भूमिकामा राखेर सक्रियता बढाइरहेको देख्दा धेरै नेताहरु आश्चर्य व्यक्त गरिरहेका छन् । यदि यही खालको सक्रियता पार्टीका अरु शिर्ष नेताहरुले देखाए गुट चलाएको भनेर निकै कोकोहोलो मच्चाउने नेकपाका नेताहरु राष्ट्रपति भण्डारीको भूमिकाबारे भने कतै बोलेको देखिदैन । यदि यस्तै खालको भूमिका अरु दलबाट राष्ट्रपतिको पदमा कोही बसेको भए नेकपाका नेताहरु यतिबेलासम्म सडकमा आगो बाल्थे । तर, यो आफ्नो पार्टीको मामिला न भयो उनीहरु चुपचाप रमिता हेरिरहेका छन् ।

Loading...