टुटल र पठाओको पक्षमा उच्च अदालतको फैसला

भक्तपुर, ३० मङ्सिर । पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो ।

ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ । यो नै मुद्दाको फैसला भने होइन । अन्तिम सुनुवाईपछि मात्रै यसबारे फैसला हुने अदालतको आदेशमा उल्लेख छ।

के हो टुटल र पठाओ
टुटल र पठाओ मोटर साइकल मार्फत यातायातको सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनी हो । ट्याक्सीले जस्तै पैसा लिएर मोटरसाइकलबाट यात्रा सेवा लिन चाहनेले टुटल र पठाओ एप्स डाउनलोड गरि आवश्यकता अनुसार सेवा लिन सक्छन ।
यो सेवा ट्याक्सी भन्दा तुलनात्मक रुपमा सस्तो, छिटो र प्रविधीमैत्री भएकोले युवा पुस्ता माझ लोकप्रिय छ । नेपालमा पछिल्लो समय भारतीय नाकाबन्दीको बेला भएको ‘लिफ्ट’ लिनेदिने कुराबाट प्रभावित भएर टुटल र पठाओ लाई ब्यवासायिक रुपमै अघि बढाइएको बताइन्छ ।
यो सेवा तुलनात्मक रुपमा सस्तो, छिटो र प्रविधीमैत्री भएपनि प्रविधिसंग पहुँच नभएकाले प्रयोग गर्न नसक्ने र सुरक्षाको दृष्टीले भरपर्दो नरहने जस्ता बेफ़ाइदहरु पनि उत्तिकै छन् ।

Loading...