मानव वस्ती र जंगलबीच लगाइएको विद्युतीय ढोका बन्द गर्न जाँदा हात्तीले लियो तालिमपाप्त रक्षकको ज्यान

झापा, १२ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाकाे ज्यान गएकाे छ । झापाको कचनकवलमा वन रक्षककाे काम गर्ने व्यक्तिलाइ नै जंगली हात्तीले मारेको हाे। स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनका हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएकाे छ ।

मानव वस्ती र वन क्षेत्रको सिमानामा लगाएको सौर्य विद्युतीय बारको ढोका लगाउन जाँदै गरेका क्षेत्रीलाई जंगलबाट बस्ती पसेको हात्तीले लछारपछार पार्दै आक्रमण गरेको थियो। विद्युतीय बारको ढोका लगाउन ढिलो भएकाले हात्ती मानव बस्तीमा छिरेको बताइएकाे छ । यसअघि ६ बजे नै सौर्य विद्युतीय बारका ढोका बन्द भइसकेका हुन्थे भने बिहीबार साँझ भने साढे सात बजे मात्र ढोका लगाउन उनी गएका थिए । अबेर गएर विद्युतीय ढाेका लगाउन जाँदा उनलाई हात्तीले आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको बताइएकाे छ।

प्रत्येक दिन बिहान विद्युतीय बारका ढोका खोल्ने र बेलुका बन्द गर्नकै लागि स्थानीय पाथीभरा सामुदायिक वनले क्षेत्रीलाई नियुक्ति गरेको थियो।

उनको काम वन क्षेत्र र मानव बस्तीबीचको विद्युतीय बारको ढोका बन्द गर्ने र लगाउने मात्र हो। स्थानीयका अनुसार अन्य दिनको भन्दा बिहीबार उक्त बारको ढोका ढिलो बन्द भएकोले हात्ती साँझै बस्तीमा पसेको थियो।
बारको ढोका लगाउन जाँदा क्षेत्रीको हात्तीसँग मुठभेड भएको स्थानीयले बताएका छन्।

मानिस मारेपछि सो हात्तीले गाउँमा आतंक मच्चाएको स्थानीयले बताए। हात्तीलाई जंगलतर्फ धपाउन विद्युतीय बारका ढोका बन्द गरिएका छन्। ढोका खोल्ने र बन्द गर्ने क्षेत्री सो सामुदायिक वनका एक मात्र तालिम प्राप्त कर्मचारी थिए।

Loading...