उपनिर्वाचनका लागि तीन दिन विद्यालयमा दिइयो सार्वजनिक विदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले जानकारी दिए ।

उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।

Loading...