मोहन कन्या माविका प्र अ र विव्यस अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ११ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली, पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाका सब–इन्जिनियर रामस्वरूप चौधरीले निर्माणका क्रममा नक्कली बिलभर्पाइ पेस गरी ७ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले अख्तियारले जनाएको छ ।

ढकाल र ज्ञवालीले भवन र शौचालय निर्माणमा वास्तविक भएको भन्दा बढी खर्च तथा काम भएको झुठ्ठा बिल भरपाई पेश गरेको अख्तियारले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय पाल्पाका तत्कालीन सवइन्जिनियर रामस्वरुप चौधरीले आफ्नो पदीय दायित्व पूरा नगरी वास्तविक भएको काम भन्दा बढी देखाई गलत प्रतिवेदन तयार गरी भवन र शौचालयसमेतको कार्य सम्पन्न प्रतिवेदनमा बढी मूल्याङ्कन गरी योजना फरफारक गराएकोले बदनियत तरिकाले नेपाल सरकारको रकम हानिनोक्सानी पुर्‍याएको देखिएको अख्तियारको आरोप छ ।

Loading...