प्रमुख खेलाडीहरु कारवाहीमा पर्दा पनि कुवेतसँग नेपाल १–० ले पराजित

काठमाडौं, ३ मंसिर । भुटानमा भएको विश्वकप छनौटमा नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतको टोलीसँग १–० ले पराजित भएको हो ।

नेपाली टोली १–० ले पराजित भए पनि यसलाई सुधारिएको प्रदर्शन मानिएको छ । राष्ट्रिय टिमका चर्चित खेलाडीहरु खेलको मुखैमा आएर केही दिन अघि अनुशासनको कारवाहीमा पर्दा पनि वैकल्पिक खेलाडी सम्मिलित टोली थोरै गोल अन्तरले पराजि भएको हो ।

यसअघि एन्फाले नेपाली राष्ट्रिय टिमका चर्चित स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरहरु अन्जन बिष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनको कारवाही गरेर राष्ट्रिय टिमबाटै निलम्वन गरेको थियो ।

भुटानको राजधानी थिम्पुमा मंगलबार भएको खेलमा नेपाली टोली १–० गोल अन्तरले पराजित भयो भने कारवाहीमा परेका प्रमुख खेलाडीहरुसहितको टोलीले कुवेतसँग उसकै घरेलु मैदानमा यसअघि ७–० गोलको विशाल अन्तरले पराजित भएको थियो ।

मंगलबार थिम्पुमा भएको खेलमा कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ । मंगलबार भुटानमा भएको यो खेल नेपालमै हुनुपर्ने थियो । तर, दशरथ रंगशाला बन्दै गरेको हुनाले नेपालको सट्टामा भुटानमा खेलको आयोजना गरिएको हो ।

Loading...