आयल निगमको ट्यांकर नै अपहरण गरी गायव

काठमाडौं, ३ मंसिर । नेपाल आयल निगमको ट्यांकर नै अपहरणमा परेको छ । निगमको अमलेखगन्ज डिपोबाट इन्धन भरेर विराटनगर गइरहेको एक ट्यांकरलाई बीच बाटोबाटै अपहरण गरिएको बताइएको छ ।

सोमबार राति बाराको अमलेखगञ्जबाट २० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । उक्त ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको बताइएको छ ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले गए राति अपहरण गरिएको खबर आएको र त्यसको खोजी भइरहेको जानकारी दिएका छन् । उक्त ट्यांकर लहानको पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट एक समूहले अपहरण गरेको बताइएको छ । ट्याकंर अपहरणमा परेका बेला चालक समेत त्यही ट्यांकरमा रहेको बताइएको छ । निगमले चालकले ट्यांकर छेउमा रोकेर आराम गरिरहेको बेला अपहरण परेको जनाएको छ । साथै चालकले त्यो समय राति १२ देखि १ बजेको बीचमा हुनसक्ने पनि जानकारी दिएको निगमले जनाएको छ ।

ट्यांकरमा चालक रामदेव यादव र सह चालक उमेश यादव रहेका थिए । उनीहरु राति खाना खाएर लहानमा आराम गर्न सडक छेउमा ट्यांकर रोकेर सुतेका थिए । त्यही बेला मुखमा पट्टी बाँधेर आएका ६÷७ जना नकाबधारी समूहले ट्यांकर अपहरण गरेको उनीहरुले बताएका छन् । चालकले आफूहरुलाई आँखामा पट्टी बाँधिएको र जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलसम्म लगेको पनि बताएका छन् । त्यही जंगलमा आफूहरुलाई छोडेको र उनीहरुले ट्यांकर लिएर भागेकोे बताएका छन् ।

चालकले आफूले चलाएको ट्यांकर अपहरण परेको कुरा पनि रातभर नभनेर आज बिहान मात्र जानकारी गराएका थिए । उनले मंगलबार बिहान १० बजे कार्यालय समयमा मात्र ट्यांकर हराएको जानकारी दिएका थिए ।

यसैबीच ट्याकंर अपहरण भएको घटनाबारे छानबिन गर्न नेपाल आयाल निगमले एक समिति बनाएको छ । निगमले विराटनगर डिपोका प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक एक जना प्रतिनिधि तोकिएका छन् । एक साताको समय दिएर उनीहरुले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

उक्त ट्यांकरका ढुवानीकर्ता राजेश कुमार गुप्ता भएको बताइएको छ । गुप्ताले मंगलबार नेपाल आयल निगमलाई आफ्नो ट्यांकर अपहरणमा परेको लिखित जानकारी दिएका थिए । उनले आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट ‘ अपहरण’ मा परेको दाबीसहितको लिखित पत्र निगमलाई दिएको बुझिएको छ ।

Loading...