आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा 

काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट डिपोले साे ट्याङ्करले बीस हजार लिटर डिजेल बोकेको जनाएकाे छ । ना ७ ख ७३९ नम्बरको ट्याङ्कर खेतमा पल्टिएको तर चालक र सहचालकहरु भने सकुशल रहेको थानकाेट डिपो प्रमुख प्रदिप कुमार यादवले जानकारी दिएका छन् ।

डिपाे प्रमुख यादवले ट्याङ्कर चिप्लिएर दुर्घटना परेकाे खबर आए लगत्तै डोजर बाेलाएर ट्याङ्कर उठाएकाे जानकारी दिए । पल्टिएकाे ट्याङ्कर डाेजरले उठाए पनि त्यसलाइ बाटाेमा तान्नका लागि भने क्रेन बाेलाइएकाे उनले बताए । 

डिपाे प्रमुख यादवले २० हजार लिटर डिजेल बाेकेकाे ट्याङ्कर भए पनि त्यसबाट पूरै डिजल भने नपाेखिएकाे बताए । उनले ट्याङ्करबाट ३ हजार लिटर जति तेल पाेखिएको जानकारी दिए । 

Loading...