आगमछें र देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्तामार्फत गरिने

काठमाडौँ, १२ असोज । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरेको हो । विसं २०७२ को भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनःनिर्माण गर्ने सम्झौता छ ।

पुनःनिर्माण प्राधिकरणको पहलमा यसअघि नै आगमछें मन्दिर उपभोक्ता समितिमार्फत गर्न जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका थिए । टेण्डरमार्फत गर्ने कि उपभोक्ता समितिमार्फत गर्ने भन्नेमा कुरा नमिकाले आगमछेंको पुनःनिर्माण अघि बढ्न सकेको थिएन ।

उपभोक्ता समितिमार्फत पुनःनिर्माण गर्ने सहमति भए पनि पुनःनिर्माणका क्रममा मन्दिरको माथिल्लो भागलाई काठको टेको लगाएर अड्याउने कि ज्याक लगाएर भन्नेमा एकमत हुन बाँकी छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुरक्षित तरिकाले मन्दिरको पुनःनिर्माण गर्नु महत्वपूर्ण भएकाले प्राविधिक पक्षमा धेरै अल्झिन नहुने बताए ।

ललितपुर महानगरापालिकाले उपभोक्ता समितिमार्फत देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न माग गरेको थियो । ‘पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनःनिर्माण कार्य महानगरपालिकाबाट गठित उपभोक्ता समितिमार्फत गर्न स्वीकृत दिने’ कार्यकारी समितिको निर्णयमा उल्लेख छ ।

Loading...