विद्यालयलाई चार जनाले गरे जग्गा दान

गलकोट, १२ असोज । बागलुङको काठेखाला गाउँपालिका–७ स्थित रेश नुन्थला माविको शैक्षिक उन्नयनका लागि पाँच रोपनी जग्गा निःशुःक उपलब्ध गराइएको छ । प्राविधिकधार तर्फको अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि विद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय सहयोगदाताले विद्यालयका नाममा नामसरी भएर आएका विद्यालयले जनाएको छ ।

शैक्षिक उन्नयनका स्थानीय चार जनाले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए । स्थानीय अभिभावक दानबहादुर जिसीले साढे दुई रोपनी, लीलाधर शर्माले साढे एक रोपनी, गङ्गादेवी शर्माले सात र धनपति जैसीले चार आना गरी करीब पाँच रोपनी जग्गा विद्यालयका नाममा नामसरी भएर आएकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

घर नजीकैको विद्यालयको शैक्षिक विकासमा सघाउ पु¥याउनका लागि आफूले निःशुल्क रुपमा साढे दुई रोपनी जग्गा विद्यालयको नाममा नामसरी गरीदिएको जग्गादाता जिसीले बताए । विद्यालयले कक्षा १२ मा प्राविधिक शिक्षा, कम्प्युटर ल्याब, मल्टिमिडिया सेन्टर तथा विज्ञान प्रयोगशाला स्थापना गर्नका लागि गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म आयोजना गरेको शैक्षिक महोत्सवमा डेढ करोड नगद सङ्कलनसमेत भएको शैक्षिक महोत्सवको संयोजक तथा वडा नं ७ का अध्यक्ष प्रेम लामिछाने बताए ।

विद्यालयलाई नौ जनाले करीब १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ । बाल विकासदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा ४५० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा सङ्कायमा अध्यापन गराइरहेको विद्यालयले व्यवस्थापन तथा प्राविधिकधारतर्फ अध्यापन गराउने योजना बनाएको छ । निःशुल्क प्राप्त जग्गामा आवश्यक भौतिक पूर्वाधार तथा विद्यालयको शैक्षिक विकासमा परिचालन गरिनेछ ।

Loading...