आधारभूत तहदेखि नै पाठ्यक्रम बदलेर शिक्षामा ठूलो फड्को मार्ने सरकारको योजना

अदूरदर्शी शासकका कारण नेपालको शिक्षा पछि परेको प्रधानमन्त्रीको निष्कर्ष

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै अब शिक्षामा ठूलो फड्को मार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सो धारणा व्यक्त गरेका हुन् ।

प्रम ओलीले त्यसका लागि आधारभूत तहदेखि नै नयाँ पाठ्यक्रम लागू हुनुपर्नेमा जोड दिएका छन् । नयाँ पाठ्यक्रम व्यवहारिक, प्राविधिक र रोजगारमूलक शिक्षा केन्द्रित हुनुपर्ने पनि उनले बताएका छन् । उनले देशका शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना नभएर देशका लागि आवश्यक जनशक्ति उत्पादन केन्द्र बन्नुपर्ने बताएका छन् ।

शुभकामना सन्देशमा प्रम ओलीले नेपालको शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको बताएका छन् । यसको दोष विगतका शाकहरुलाई दिँदै प्रम ओलीले नेपालका अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको दावी गरेका छन् । वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमै भएको उल्लेख गर्दै उनले अब भने देशका शिक्षा पछि परिरहन नसक्ने बताएका छन् ।

शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘ज्ञानभूमिका रूपमा नेपाल जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो, विगतका शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति समाउन सकेन । तर अब नेपाल पछाडि परिरहन सक्दैन ।’

प्रम ओलीले विकास र निर्माणका लागि अति आवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै अबका दिनमा नेपालको शैक्षिकस्तर माथि उठ्ने विश्वास व्यक्त गरेका छन् ।

सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमी–कमजोरीको पहिचान गर्दै शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन गरिनुपर्ने सुधारका कामहरुलाई सरकारले महत्त्व दिएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।

सेप्टेम्बर ८ लाई विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवसका रुपमा मनाइने गरिन्छ । नेपाल पनि आजैको दिन अन्तर्राष्ट्रिय साक्षरता दिवससँगै राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । यस अवसरमा आज देशभर विधि कार्यक्रम गरिँदैछ ।

यस्तो छ प्रधानमन्त्रीको शुभकामना

 

Loading...