बैतडी, १५ भदौ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।
प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले सोलार हस्तान्तरण गरेका हुन् ।
सोलार पाएपछि आफूहरुलाई खुशी लागेको दशरथचन्द नगरपालिका– २ का स्थानीय गोमती बोहराले बताए । अपाङ्गता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा रु एक लाख रकम विनियोजन गरेको थियो ।