काठमाडौँ, १४ भदौ । वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ ।
वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाए ।
नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी गरिरहेको जानकारीसमेत उनले दिए । सफाइमा २२ संस्थाका ५०० भन्दा धेरै अभियानकर्मीको सक्रियता थियो । आजको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।
सफाइमा पूर्वराजदूत किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, अधिकारसम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जनलगायतको सक्रियता थियो ।
सफाइका अवसरमा नेपाल नदी संरक्षण संस्थाले थापाथली पुलबाट सुन्दरीघाटसम्म जलयात्रासमेत चलाएको थियो । संस्थाले वाग्मती सफा बनाउन उद्देश्यले दुई दशकअघिदेखि वाग्मतीमा जलयात्रा गराउँदै आएको अध्यक्ष मेघ आलेले बताए ।
मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २९१ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ग¥यो । शुक्रबार गोकर्णे औँशीका अवसरमा जम्मा भएका लाखौँ भक्तजनले गरेको फोहर व्यवस्थापन गर्न मन्दिर परिसरमै सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई बताए ।
कुहिने फोहरलाई गत वर्ष मन्दिर क्षेत्रमा राखिएको कम्पोष्ट विनमा राखिएको थियो । नकुहिने फोहर भने गोकर्णेश्वर नगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो । मन्दिरमा लागेको मेलामा साढे तीन लाखभन्दा बढी भक्तजनको भीड लागेकाले फोहर सफाइ गर्न कम्तीमा एक हप्ता लाग्ने मञ्चले जनाएको छ । गत वर्ष गोकर्णे औँशीको अवसरमा यो क्षेत्र सफा गर्न डेढ हप्ता लागेको थियो । यस वर्ष भक्तजनले विगत वर्षमा भन्दा कम फोहर गरेकाले एक हप्तामै सकिने जनाइएको छ ।
विष्णुमती सफाइको २५६औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ र १० क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १३९औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी १३४ जनाको सहभागितामा कार्यक्रम गरियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले बताए ।
मनोहरा नदी सफाइको १२८औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालले नदीमा फोहर फाल्नेलाई स्थानीय सरकारले कडा कारवाहीको व्यवस्था गर्न लागेको सुनाए ।
चक्रपथ सफाइ २०७१ ले आज वाफलबाट कलङ्की क्षेत्रमा १०८औँ हप्ताको सफाइ गरेको थियो । झरी परिरहेका बेलासमेत जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
यसैगरी प्रत्येक हप्ताको आइतबार सफाइ हुँदै आएको ललितपुरको गोदावरी नदीको कार्यक्रम पनि आजदेखि शनिबार नै गरिएको संयोजक बेबी राजभण्डारी थापाले बताए । २६औँ हप्ताको आजको सफाइ महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ८ बाट गोदावरी नगरपालिकाको वडा नं १४ सम्म गरिएको थियो ।
नेपाल प्रहरीसमेतको सक्रियतामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का अध्यक्ष क्रमशः विश्वराज श्रेष्ठ र वासु शर्माले नदी किनारमा नफाल्न आह्वान गर्नुभएको थियो ।
यसैगरी आज चक्रपथको उत्तरखण्ड र आलोकनगरमा १२७औँ हप्ताको सफाइ गरिएको थियो । रुद्रमती, तिलगङ्गा र गुह्येश्वरी क्षेत्रको वाग्मतीमा पनि सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।