काठमाडौं महानगरले गर्यो सडकमानव व्यवस्थानका लागि सवारीसाधन हस्तान्तरण

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा बास बस्न बाध्य दीनदुःखी अशक्तहरुका लागि एक थान सवारी साधन हस्तान्तरण गरेको छ । यसको व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमलाई महानगरले सवारी साधन हस्तान्तरण गरेको हो ।

शुक्रबार महानगरपालिकाको सहकार्यमा मानवसेवा आश्रमले सडकमा जीवन व्यतित गर्दै आएका दीनदुःखी अशक्तलाई उद्दार गर्दै आएकोमा यो सेवाकार्यमा अझै सहजताको लागि महानगरले आश्रमलाई नपुग रकम १६ लाख थप गरी सवारीसाधन प्रदान गरेको हो । 

 

कार्यक्रममा महानगरका मेयर बिद्यासुन्दर शाक्यले ‘सकारात्मक सोचले आगाडि बढेकाहरुसँग महानगरले सधै सहकार्य गर्ने बताउ । उनले केही मानिसहरु आफूलाई चिनाउन हल्ला र प्रचारवाजी मात्र गरिरहेको उल्लेख गर्दै महानगरले भने व्यवहारबाटै सकारात्मक सोच देखाउनुपर्ने बताए ।

महानगरले साझा यातायातमा पनि सहकार्य गरेर यातायात क्षेत्रलाई व्यवस्थित गरेको भन्दै मेयर शाक्यले काठमाडौँ महानगर भित्रमात्रै नभई यो सेवा सम्पूर्ण देशवासीलाई हुने भएकोले आफू खुसी भएको बताए । उलने आगामी दिनमा यातायातलाई अझै प्रभावकारी बनाउन महानगरले ३० वटा विद्युतीय बस भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव सेवा आश्रमसँग मिलेर गरेको कामबाट आफूले आत्मसन्तुष्टि प्राप्त गरेको बताइन । यसबाट काठमाडौंभित्रबाट मात्र होइन बाहिरबाट पनि सहयोगको माग हुने गरेको उनले बताइन ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने करीब ४२ रोपनी जग्गामा महानगरले भवन निर्माण गरिदिने भएपछि लक्ष्य पूरा गर्न धेरै सजिलो भएको बताए । काठमार्डौं महानगरले सबै स्थानीय तहको नेतृत्व गरिरहेको र यही नेतृत्वबाट धेरै बेसाहाराहरुले सहारा पाएको उनले बताए । महानगरकै सहयोगमा खान नपाउनेले खान, बास नभएकाले बास र बिरामीले उपचार दिँदै आएको भन्दै उनले महानगरको कामको प्रशंसा गरे ।

काठमाडौं महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन बिताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको थियो । आश्रमबाट अहिलेसम्म ५४५ जनाको उद्धार गरिएको छ । अहिले काठमाडौं भित्र र बाहिर गरेर ११५ जना मानिसहरु यसमा आश्रित रहेका छन ।

काठमाडौं महानगरले प्रदान गरेको सवारीसाधनमा मौलिक लिपि रन्जना लिपिमा महानगरको लोगो र आश्रमको लोगो अंकित गरिएको छ । 

Loading...