धरान पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।

पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए ।

“सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ”, उनले भने । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिए ।

“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हुँदै गएको छ”, उनले भने । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउँछन । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उनको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन् ।

सुनसरीको दुहबीबाट पूजा गर्न आएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउँछिन । उनी यहाँ गाईको दूध चढाउन आउछिन । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनन्”, चौधरीले भन्छिन ।

यस्तै विराटनगरबाट पूजा गर्न आएकी गीता कार्की आफ्नो लागि साउन महीना खास रहेको बताउँछन । साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उनले बताइन । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन् ।

सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउँछन । उनले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए । मन्दिरमा भेटिएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनी पिण्डेश्वर धाममा आउने गरेको बताउँछन । “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छयाएको कुरा प्राप्त हुन्छ”, उनले भने । मन्दिर छेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ । सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन ।

Loading...