फेरि सेनाका दुई जर्नेलको जन्ममिति विवादमा, आखिर किन आउँछ सुरक्षा निकायका उच्च तहमा उमेर विवाद

काठमाडौ, २२ साउन । नेपालको सुरक्षा निकायमा उमेर विवाद स्थायी रोगजस्तै भएको छ । नेपाली सेना र प्रहरीका उच्च तहका धेरै अधिकृतहरुको उमेर विवाद आइरहन्छ । यसैक्रममा नेपाली सेनाका दुई सैनिक उच्च अधिकृतको जन्ममिति विवादमा आएको छ।

नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र उपरथी ताराध्वज पाण्डेको जन्ममिति शैक्षिक योग्यता प्रमाणपत्रमा फरक देखिएपछि उनीहरु विवादमा तानिएका हुन् ।

उपरथी बढुवाको लाइनमा रहेका सिग्देलको शैक्षिक प्रमाण पत्रमा जन्ममिति २०२१ माघ १९ गते देखिन्छ । तर, उनले नेपाली सेनामा बुझाएको नागरिकताको प्रमाणपत्रमा भने २०२३ माघ १९ रहेको देखिन्छ । यसरी उनले आफ्नो उमेर २ वर्ष घटाएको पत्ता लागेको हो ।

सेनाको सुपिङ क्याम्पसबाट जारी सिग्देलको शैक्षिक योग्यताको प्रमाणपत्रमा सेसन ०४०÷०४२ समूह मानविकी (पाँचौं) ब्याजमा दर्ता नम्बर १६ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको देखिन्छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको दर्ता नम्बर ७०८–८४ नं. को प्रमाणपत्रमा जन्ममिति २०२१ माघ १९ कायम छ।

त्यसैगरी नेपाली सेनाको मध्य पृतना हेटौंडाको कमाण्ड सम्हालिरहेका उपरथी पाण्डेको पनि उमेर विवादमा आएको छ । उनले पनि २ वर्ष उमेर घटाएको विवरणले देखाएको छ । सेनाको सुपिङ क्याम्पसबाट जारी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सेसन ०४१–०४३ समूह मानविकी (चौथो) ब्याजको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्रमा जन्ममिति २०२१ माघ १२ देखिन्छ । तर, उनले नेपाली सेनामा बुझाएको अभिलेखमा भने २०२३ मंसिर २३ गते जन्ममिति उल्लेख छ।

सिग्देल र पाण्डेको जन्ममिति सच्याएको उजुरी सैनिक मुख्यालयमा परिसकेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले यसअघि उमेर सच्याउने र नक्कली प्रमाण भएकाहरुलाई जागिरबाट हटाउने र कतिपयलाई पदावधी थप नगरेर विदा गरिसकेका छन् । सिग्देल र पाण्डेको हकमा पनि सेनाले आन्तरिक रुपमा छानविन गरिरहेको स्रोतको दावी छ ।

नेपाली सेनाका एक उपरथीले उनीहरुमाथि छानविन सुरु भएको र प्रमाणित भए कारवाही हुने जानकारी दिए । ती उपरथीले भने, ‘उहांहरुले नागरीकता सच्याएको भन्ने उजुरीको आधारमा छानविन सुरु भएको छ, प्रमाणित भएको अवस्थामा सैनिक ऐनअनुसार कार्वाही हुन्छ ।’

यसैबीच नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सैनिक अधिकृतहरुले उमेर सच्याएकोबारे आफुलाई जानकारी नभएको बताएका छन ।

Loading...