रोल्पा । रोल्पाको लिबाङ्गमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
उक्त शिविरमा बाहिरी गाम र आसपासका स्थानीयबासीलाई सामान्य चिकित्साका अलावा मुटु रोगको जाँच इसिजी सेवा तथा अन्य रोग पहिचानका लागि ल्याव परीक्षण सेवा नि: शुल्क प्रदान गरिएको थियो । स्थानीयले शिविरमा उपलब्ध औषधी समेत नि:शुल्क पाएका थिए ।
शिविरमा नेपाली सेनाका २ जना मेडिकल अधिकृत चिकित्सक र गामस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरिएको बटुक दल गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माले बताएका छन् ।
उक्त बाहिरी गाममा संचालन गरिएको शिविरमा श्री नं.१९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदम बहादुर बुढा (पिएच.डी.) र बटुक दल गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माको विशेष उपस्थिति रहेको थियो । उनीहरूले स्थानीयको स्वास्थ्य समस्या र समाधानमा चासो राखेका थिए ।
स्वास्थ्य शिविरबाट १ सय ६५ जना महिला र ८० जना पुरुष गरी जम्मा २ सय ४५ जना स्थानीय बासिन्दाहरुले सेवा लिएका छन् । यस अघि पनि बटुक दल गणले रोल्पामा थुप्रै यस्ता सामाजिक कार्य गर्दै आएको छ ।