काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena
nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ।

सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ।

यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी तथा औषधी ढुवानी गर्ने साधनलाई यातायातमा छुट दिइएको छ।

त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाएर विमानस्थलसम्म जानपाइने व्यवस्था गरिएको छ। आवश्यक परेमा नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले नागरिकलाई आग्रह गरेको छ।

उपत्यका बाहिर भने सुरक्षा परिस्थितिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयले निषेधाज्ञा वा कर्फ्यूबारे व्यवस्था गरिने बताइएको छ।

जस्तोसुकै परिस्थितिमा पनि नेपाली सेनाले नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै मानवीय उद्धार तथा जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।