पूर्वराजा सत्तामा आउने हल्ला निराधार, पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिकाले सामाजिक सञ्जालमार्फत आज राति ठूलो निर्णय आउने संकेत गरेपछि जनमानसमा तरङ्ग पैदा भएको छ। कतिपयले नेपाली सेनाले पूर्वराजालाई नै सत्तामा फर्काउन सक्ने अड्कलबाजी गरेका छन्।

नेपाली सेनाले वार्ताको नाममा जेनजीलाई गलाउने र राजनीतिक दलहरुको पनि नाडी छाम्ने काम गरिरहेकै बेला पूर्वराजाको सक्रियताले आशंका उब्जिएको हो ।

तर, सैनिक मुख्यालय स्रोतले भने यस्ता हल्ला निराधार भएको स्पष्ट पारेको छ। नेपाली सेना लोकतन्त्रप्रति बफादार रहेको र संविधानभित्रै बाट निकास खोज्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशनअनुसार आवश्यक वार्ता र सहजीकरण गरिरहेको जनाएको छ।

सेनाले देश र जनताको जीवन र सम्पत्तिको सुरक्षाका लागि मात्र कर्फ्यु लागू गरिएको र सैनिक शासन वा प्रतिगमन गर्ने कुनै तयारी नभएको श्रोतको जिकिर छ।

यसैबीच, मुख्यसचिवले शुक्रबार नयाँ प्रधानमन्त्री आउने खुलासा गर्दै स्वागत गर्न तयारी अवस्थामा रहन सचिवहरूलाई सूचित गरेका छन्।

आन्दोलनमार्फत सत्ता परिवर्तन गरेको जेनजी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरेको र उनको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद गठन हुने उच्च सम्भावना रहेको बताइएको छ।