सूचना विभागका महानिर्देशकले ‘याे फाइल रोक भन्दै’ पत्रकार दिया चन्दको प्रेसपासमा साइन गर्न मानेनन

काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । पत्रकार चन्द कार्यरत रहेकाे मिडियाका अरु सबैलाइ प्रेस पास दिए पनि उनकाे मात्र पास सूचना विभागका महानिर्देशकले राेकेका हुन् । इमान्दार मिडिया प्रालिद्वारा संचालित संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक रहेकी चन्दले साेही अनलाइनबाट अन्य ७ जनालाइ भने प्रेस दिइएकाे बताइन ।

पत्रकार चन्द सोमबार र मंगलबार सूचना विभागकाे पास लिन विभाग पुगेकी थिइन । उनले प्रेस पास लागि आवश्यक सबै कागजात पेश गरेर रसिदसमेत काटिसकेकी थिइन । सबै प्रक्रिया पूरा गरेर उनकाे फाइल महानिर्देशक कृष्ण मुरारी न्यौपानेकाे टेबुलमा पुगेकाे थियाे । महानिर्देशककाे टेबुलमा चन्दसँगै अरुहरुकाे फाइल पनि पुगेकाे थियाे । तर, महानिर्देशकले अरु सबैकाे फाइलमा साइन गरे पनि पत्रकार दिया चन्दकाे फाइल त्यतिकै राेके । 

महानिर्देशकले फाइल राेकेकाे कुरा विभागकै सूचना अधिकारी सुमन बज्राचार्यले पत्रकार चन्दलाइ जानकारी दिइन । तर, बज्राचार्यले पनि के कति कारणले महानिर्देशकले पास लिनका लागि तयार गरिएकाे फाइल राेकेका हुन भन्ने बताउन सकिनन् । 

सूचना विभागले यसरी लिनुपर्ने पैसा लिएर, दुइ दिन दाैडाएर अन्तिममा महानिर्देशकले नै फाइल राेकेपछि पत्रकार चन्द नजिकै रहेकाे नेपाल पत्रकार महासंघलाइृ गुहारिन । 

पत्रकार चन्दले भनिन ‘हामी संचारकेन्द्रको टीम एकमुष्टमा नै पत्रकार परिचय पत्र लिने भनेर सोमबार नै बिभाग गएका थियाै तर समय अभावका कारण आधा काम मात्रै भयो र पुनः मंगलबार पनि बिभाग जानुपर्यो ।’ सोमबार बिहान ११ बजे पुनः अरु सहकर्मीसँगै बिभाग पुगेकी पत्रकार चन्दले अाफ्नाे फाइल महानिर्देशकले राेकेकाे जानकारी पाइन । 

उनले भनिन, ‘प्रेस पासका लागि आवश्यक सबै डकुमेन्ट् लिएर गएको थिए । सबै प्रकृया पुरा गरेर मैले ३ सयको रसिद पनि लिए तर अन्तिममा सूचना अधिकारी सुमन बज्राचार्यको कार्यकक्षमा फाइल त्यसै अड्काइएपछि के भएछ भनेर बुझ्न जादा तपाईलाई प्रेस पास नदिने भन्ने छ, त्यसैले तोक पनि लागेन अरुको काम भैसक्यो भनेर उहाँले भन्नुभयो ।’ 

बिभागले परिचयपत्र दिन नमानेपछि महासंघ पुगेकी पत्रकार चन्दलाइ अावश्यक सहयाेग तथा समन्वयका लागि महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीलाई बिभाग पठाए । जैसीसँगै इमान्दार मिडिया प्रालिका अध्यक्ष पत्रकार कमल बुढा, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका महासचिव बाबुराम भुषाल र संचारकेन्द्रकै सम्पादक दिपक बहादुर बुढा पुनः बिभाग पुगेका थिए । तर, उनीहरु बिभाग पुग्दा महानिर्देशक न्यौपाने भने कार्यकक्षमा भेटिएनन । महानिर्देशक नभेटिएपछि टोलीले विभागका निर्देशक तथा प्रवक्ता ध्रुब कुमार पोखरेललाई भेटेको थियो । प्रवक्ता पोखरेलले पत्रकार चन्दमाथि अनुसन्धान भइरहेका कारण प्रेसपास रोकिएको जानकारी दिए पनि के कति कारणले अनुसन्धान भइरहेको हो भन्ने खुलाउन चाहेनन् । उनले सूचना विभाग पत्रकारमाथि अनुसन्धान गर्ने निकाय हाे कि हाेइन भन्ने कुरा पनि बताउन सकेनन । 

आफ्नो प्रेस पास रोकिएपछि चन्दले सूचनाको हकबमोजिम बिभागसँग सत्यतथ्य सूचना र कारण समेत माग गर्दै निवेदन दिएकी छिन । ‘मेरो पत्रकारिता जीवनमाथि नै धक्का लाग्नसक्ने गरी सूचना विभागले मेरो प्रेस पास नै रोकेपछि त्यो के कति कारणले रोकियो भनेर जान्ने मेरो अधिकार त हुनुपर्यो नि ?’ उनले अगाडि भनिन, – ‘त्यसकारण आजै मैले सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम के-कति कारणले मेरो प्रेस पास रोकियाे भनेर निवेदन पनि दिएकी छु ।’ उनले भनिन् । पत्रकार चन्दले राजनीतिक आग्रहपूर्वाग्रहको आधारमा आफूमाथि बिभागले अन्याय गरेको दावी गरेकी छिन । उनले मिडियामार्फत नेकपा सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको तस्वीर सार्वजनिक गरेपछि केही अपराधिक मानसिकता भएका व्यक्तिहरुले नियोजितरुपमा आफूहरुलाई दु:ख दिन अनेक षडयन्त्र गरिरहेको उनले बताइन । आफ्नो प्रेस पास रोकिनुको कारण उक्त तस्वीर पनि भएको उनले बताइन ।

विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेको ठाडो निर्देशनमा सबै डकुमेन्ट पुर्याउदा पनि कुमार पौडेल हत्याकाण्डको तस्वीर सार्वजनिक गरेर राज्यलाई असहयोग गरेको, विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचारहरु लेखेको भन्दै बिभागले प्रेस पास रोकिदिएको उनको दावी छ । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालकी केन्द्रीय सदस्य समेत रहेकी चन्दले यसअघि आफु कार्यरत संचारकेन्द्र डटकम नवीकरणका क्रममा समेत बिभागले अनेकन ब्यवधानहरु खडा गर्ने प्रयत्न गरेको तर त्यो सफल हुन नसकेपछि आफुलाई व्यक्तिगतरुपमा दुख दिन प्रेस पास रोकिएको बताइन ।

सञ्चारकेन्द्रलाई बिसेष निगरानीमा राख्नेदेखि अनलाइन नविकरण गर्न अबरोध गर्ने र नसके सम्पादकीय समूहमा रहेका व्यक्तिहरुको प्रेसपास खोसेर पत्रकारिता गर्न नदिने, पेशाबाट बिमुख गराउने, उनीहरुले समाचार, लेख लेखेपछि अपराधीहरुलाई लगाइने कानुन लगाएर दण्डित गर्ने गरी सञ्चारमन्त्री गोकुल बास्कोटाले नै निर्देशन दिएका कारण सूचना तथा प्रसारण विभागका निर्देशकले पत्रकार चन्दलाई प्रेसपास नदिन निर्देशन दिएको बुझिएको छ । केही समय अगाडि मन्त्री बास्कोटा आफैले एक पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचार सम्प्रेषण गर्ने ६ वटा मिडियालाई उच्च निगरानीमा रखिएको बताएका थिए ।

इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले आफ्नो मिडिया हाउसद्वारा संचालित सञ्चारकेन्द्र डटकमकी कार्यकारी सम्पादक चन्दलाई सूचना विभागले दुई प्रेस पास उपलब्ध नगराए विभागका महानिर्देशकका विरुद्ध अदालत जाने बताए । उनले शाही शासनमा समेत नरोकिएको पत्रकार परिचय पत्र रोकेर सूचना विभागले पत्रकारहरुमाथि हदैसम्मको तल्लोस्तरको ब्यबहार गरेका कारण सम्पूर्ण सञ्चारकर्मी र पत्रकार संघसंगठनको ध्यानाकार्षण गराएका छन् । बुढाले नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्ने योद्धाकारुपमा स्थापित हुँदै गइरहेकी पत्रकार चन्दमाथि माथिको निर्देशन भन्दै सूचना विभागका महानिर्देशकले प्रेसपास समेत रोक्न दिएको निर्देशनका बिषयमा आवाज उठाउन सम्पूर्ण मिडियालाइ अनुरोध गरेका छन् ।

Loading...