ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप, कुटाकुटमा परी गम्भीर घाइते

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप भएको छ ।

ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त झडपमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

नख्खु कारागार प्रशासनका अनुसार घाइते भएका काठमाडौंको वीर अस्पताल भर्ना गरिएको छ । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले पूर्णबहादुर राजीलाई कुटपिट गर्दा कुटाकुट भएको हो । महतोले राजीमाथि भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

कुटाकुटमा सम्लग्न महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको जनाएको छ । साथै प्रहरीले दुईजनाको विवादको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरु दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । उनीहरुबीच एकाएक कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए ।