भोटेकोशीको कहर र जलवायु परिवर्तनको प्रभाव

devendra Shrestha
Devendra Shrestha

देवेन्द्र श्रेष्ठ दिवाकर, भक्तपुर । चीन र नेपालको सिमानामा रहेको भोटेकोशी नदीको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवागढी, टिम्बुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुलीबजार हुदै त्रिशुली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याएको छ। प्रारम्भिक आँकलन अनुसार, एक विशाल हिमपहिरोले नदी थुनेर अस्थायी ताल बनेको र पछि सोही ताल फुटेर यो बाढी आएको देखिएको छ। ताल पूर्णरूपमा नबगी सकेकाले दोस्रो पटक बाढी आउने जोखिम अझै कायमै छ।

यो घटनाले बढ्दो विश्वव्यापी बायुमण्डलीय तापक्रम बढ्दा हिमाली क्षेत्र अत्यन्त संवेदनशील बन्न जाँदो रहेछ भन्ने स्पष्ट चेतावनी दिएको छ।

तत्कालका लागि सार्वजनिक सतर्कता अपनाउनुको अर्को बिकल्प छैन। दीर्घकालिन समाधानका लागी वातावरणीय विनाश रोक्न संवेदनशील उच्च पर्वतीय क्षेत्रमा उच्च ऊर्जा खपत गर्ने उद्योगहरू र ताप उत्सर्जन गर्ने उद्योग, ओजोनलाई क्षति पुर्याउने गतिबिधिहरु, कार्बन तथा कार्बन डायअक्साइड उत्सर्जन स्थापनामा रोक लगाउँदै जानुपर्ने हुन्छ।

आजभोलि बिशेष गरी कृत्तिम बुद्धिमता (एआइ)को बढ्दो प्रयोगले डाटा सेन्टरहरुको माग पनि स्वभाबिक ढंगले बढ्दै गएको छ । एउटै डाटा सेन्टरले पुरै काठमाडौं उपत्यकाले जति विद्युत खपत गर्छ, त्यतिकै हाराहारीमा विद्युत खपत गर्छ र त्यो खपत गरेको विद्युतको ठुलो हिस्सा डाटा सेन्टरमा प्रयोग हुने कम्पुटरका चिप्सहरुले खपत गर्दछन् । तिनलाई चिस्याउनु पर्ने हुन्छ। यो समस्या समाधान गर्न डाटा सेन्टरहरु कि त समुद्रको चिसो पानी भित्र स्थापना गरिन्छ कि त नेपाल जस्तो सहजै पर्याप्त विद्युत आपुर्ति हुने र उच्च भुगोल भएको चिसो स्थानमा गरिन्छ।

यदि यस्ता सेन्टरहरु आर्थिक लोभमा स्थापना गरियो भने हिमाली क्षेत्रमा तापक्रम बढ्न गइ भोटेकोशीको यो ताण्डव जस्तै सबै हिम नदीहरुको ताण्डव निरन्तर भोग्न तयार रहनु पर्ने हुन्छ ।

भोटेकोशीमा एक्कासी ​आएको बाढीको कारण रसुवागढी देखि सम्पुर्ण त्रिशुली नदीको तटिय क्षेत्रका स्थानीय बासिन्दाको अकल्पनीय जनधनको क्षति भयो । पुल, बाटो, विद्युत गृह जस्ता देशका पूर्वाधारमा ठूलो क्षति पुऱ्यायो। कयौं विद्यालय बाढीमा बगेर हराए । घटना एउटा तर, देश पुरै शोकमा डुब्न पुग्यो ।

अझै नदीको अवरोध पूर्ण रूपमा हटेको छैन र नयाँ बनेको ताल पनि पूर्ण रूपमा रित्तिएको छैन। बाँकी रहेको पानी जुनसुकै क्षण फुट्न सक्ने र थप विनाश गर्न सक्ने निरन्तर जोखिम रहेको छ ।​

यस घटनालाई हिमाली क्षेत्रमा भइरहेको व्यापक वातावरणीय परिवर्तनको सन्दर्भसँग जोडेर हेरिनुपर्छ । मानव निर्मित जलवायु परिवर्तन र यस्ता विपद्हरूको बढ्दो निरन्तर पुनराबृत्ति बीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि हुन्छ।

​हिमाली क्षेत्रमा बढ्दो गर्मी नै हिउँ र बर्फ छिटो पग्लिनुको मुख्य कारणले बारम्बार ठुला ठुला हिम पहिरो जाने गरेको हो । बढ्दो तापक्रमले हिमपहिरो जाने र हिमनदी पग्लिने क्रमलाई बढाउँछ, जसले नदी थुनिने र अचानक बाढी आउने समस्या निम्त्याउँछ।
​​
अहिले तत्कालका लागी यो शोकको घडीमा सबै नागरिकमा एकता र मानबिय सम्बेदनशिलताको खाँचो छ । सबै नेपालीहरुको एकता , सहयोग र हातेमालोले मात्र पिडालाइ समन गर्न सकिन्छ । यो शोकको घडीलाइ शक्तिमा बदलेर मात्र हामी अगाडी बढ्ने मार्ग खुल्नेछ।

भुगोल र बातावरणमा हुने परिवर्तन र त्यसको प्रभावको पुर्वानुमानका लागि सेटेलाइट प्रबिधिको प्रभावकारी उपयोग र सुचना प्रविधिको बिकास गर्न जरुरी छ । यसका लागी सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

बाढीको खतरा कायमै रहेसम्म सबै नदीका तल्लो तटीय जनसमुदायहरूले उच्च स्तरको सतर्कता अपनाउन जरुरी छ । राज्यले जनताको जीउधनको सुरक्षा रणनीति लागू गर्नु अत्यावश्यक हुन्छ ।

(लेखक देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ विज्ञानका अन्वेषक एवं बागमती प्रदेश सभाका सदस्यसमेत हुन् ।)