तीन वर्ष अघि नेपाल पत्रकार महासंघको अध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा र विजयी बनेर तीन वर्षे कार्यकाल पूरा हुने विन्दुमा आइपुग्दा तपाईको सोचाइमा के फरक आएको छ ?
एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो । यसमा एकातिर भावनाको पक्ष छ भने अर्कोतिर कामको प्रगतिको समीक्षा गर्नुछ । भावनात्मक कुरा गर्दा उम्मेदवार बन्दै गर्दा म के गर्न सक्छु भन्ने जिज्ञासा थियो भने अहिले विदाइको क्षणमा आइपुग्दा के गर्न सकेँ भन्ने हिसाव कितावको कुरा छ । त्यसबेला ममा कतिपय कुरामा हिच्किचाहट थियो, डर पनि थियो एक किसिमको । पहिलो जित, हार के होला भन्ने जिज्ञासा हुने नै भयो, अर्को जितेको अवस्थामा काम गर्ने परिस्थिति कस्तो होला भन्ने पनि थियो । अहिले आइपुग्दा अब अर्को महाधिवेशनलाई सहजतापूर्वक सम्पन्न गर्ने काम मात्र बाँकी छ । अनेक आरोह अवरोहका बाबजुद पर्याप्त उपलब्धि हासिल भएका छन् । कतिपय अवस्थामा चरम निरासाको अवस्था पनि आयो, कहिले काफी उत्साहित पनि भइयो । समग्रमा भन्दा महासंघको अध्यक्ष हुनु विश्वास र सौभाग्यको कुरा थियो । त्यो बेला साथीहरूले गर्नुभएको विश्वास सम्झँदा र अहिले खुसीका साथ धन्यवाद दिएको पाउँदा गौरव महसुस हुन्छ ।
२४औं महाधिवेशनबाट निर्वाचित भएपछिको महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमा तपाईले पेस गरेको तीन वर्षे कार्ययोजना बनाउँदा तपाईले के सोच्नु भएको थियो ?
पक्कै पनि ती कार्ययोजना र आगामी दिनका प्राथमिकताहरू महासंघमा गर्ने कामको अवधारणासँगै तीन वर्षपछिको मूल्याङ्कनका लागि सूचकका रूपमा पनि रहनेछन् भन्ने थियो । महासंघमा त्यसअघि सदस्य, सचिव र महासचिवका रूपमा काम गर्दाका अनुभव, अध्यक्षको उम्मेदवार बन्दा जारी गरिएको प्रतिवद्धता र झण्डै अढाई दशक लामो पत्रकारिताको पेसाबाट हासिल भएको ज्ञान र अध्ययन अनुसन्धानको परिणाम थियो त्यो । ती कार्ययोजना तयार गर्दा पक्कै पनि त्यो आफू र आफ्नो कार्यसमितिको निम्ति मार्गदर्शन मात्र हैन, अवसर र चुनौती पनि हुनेछ भन्ने लागेको थियो ।
महासंघका ती सात प्राथमिकता अहिले कहाँ पुगेका छन् ? उपलब्धी के भयो ?
ती सात प्राथमिकतालाई बुँदागत आधारमा मूल्याङ्कन गर्ने हो भने राम्रै श्रेणीमा उत्तीर्ण हुने गरी उपलब्धी भएका छन् भन्ने लाग्दछ । पत्रकारको पेसागत हकहितका सन्दर्भमा महासंघ केवल विज्ञप्ति मात्र निकालेर बसेन । मिडिया व्यवस्थापनसँग संवाद, पत्रकारिता क्षेत्रका संस्थासँग सहकार्य, सरकारलाई दवाव, संसदीय समितिमा बहस, अदालतमा मुद्दा र कतिपय मिडिया हाउसमा आन्दोलन भए । न्यूनतम पारिश्रमिकमा दोब्बर बृद्धि, पत्रकार बिमा, जेष्ठ पत्रकार सम्मानबृत्ति, पत्रकार सन्तति शैक्षिकबृत्ति, स्वास्थ्य उपचारमा छुटको नीतिगत प्रबन्ध, आपतकालीन राहत कोषको स्थापना जस्ता विषय सामाजिक सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण उपलब्धी हुन् । यही अवधिमा विगतमा रहेको पत्रकार कल्याण कोषमा झण्डै दोब्बर बढाएर १ करोड ४५ लाख रुपियाँ पु¥याइएको छ, जसको ब्याजबाट पत्रकारलाई उपचार सहयोग दिन सकिएको छ । पत्रकारको भौतिक सुरक्षातर्फ हत्याजस्ता डरलाग्दा घटनाको क्रम रोकिनु, आक्रमणका घटनामा केही कमी आउनु, कतिपय घटनामा दोषीलाई कारवाही गराइनु र पत्रकार सुरक्षाका लागि नीतिगत आधार र संयन्त्र तयार हुनुलाई पनि उपलब्धी नै मान्नुपर्दछ । प्रेस स्वतन्त्रतालाई सङ्कुचित गर्न ल्याइएको अदालतको अवहेलना विधेयक र अनलाइन निर्देशिका महासंघको सशक्त प्रतिरोधकै कारण अगाडि बढ्नै नसक्ने अवस्था बन्यो भने नयाँ संविधानमा अन्ततः पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्न बाध्य हुनुपर्ने स्थिति निर्माण भयो । विधान संशोधन गरेर महासंघको सङ्गठनात्मक पुनर्संरचना गरिएको छ भने समावेशितालाई आत्मसात् गरिएको छ । नयाँ आमसञ्चार नीति जारी भएको छ । पत्रकार आचारसंहिता पनि नयाँ आएको छ । यसले पत्रकारिताको भावी मार्गचित्र स्पष्ट गर्नुका साथै व्यावसायिकतालाई प्रवद्र्धन गर्नेछ । समानुपातिक विज्ञापनका साथै मिडियालाई उद्योग सरह मान्यता दिलाउने, साना लगानीका मिडियाको प्रवद्र्धनको आधार तय गर्ने जस्ता कार्य पनि भएका छन् । पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको स्थापना भइनसके तापनि तीन तीन पटक बजेटमा समावेश भई अब केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाको आधार तयार भएको छ । पत्रकारको सुरक्षा र हितमा अन्य थुप्रै कार्य भएका छन् जसलाई महासंघका प्राथमिकता र कार्ययोजनाको उपलब्धीको रूपमा लिन सकिन्छ जस्तो लाग्दछ ।
नेपाली प्रेस जगतले लोकतन्त्रको निम्ति निकै सङ्घर्ष ग¥यो । २०६२/६३ को आन्दोलनको बेला तपाईं महासंघमा महासचिवको रूपमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । अहिले लोकतन्त्र स्थापना भएको दशक नाघिसकेको बेला नेपालमा प्रेस, अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथिका चुनौती अझै बढ्दै गएको छन् । तपाईले यसलाई कसरी हेर्नुभएको छ ?
वास्तवमा लोकतन्त्र स्थापनाका लागि नेपाल पत्रकार महासंघको आह्वानमा प्रेस जगतले जीवन जोखिममा राखेर आन्दोलन गर्दा लोकतन्त्र आएपछि मुलुकको परिवर्तन, आमनागरिकको जीवनस्तरमा सुधारसँगै पत्रकारिता र पत्रकारको पनि हक हित हुनेछ भन्ने विश्वास लिइएको थियो । पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्ध्र्रन र सम्पादकीय स्वतन्त्रता लगायत प्रेस जगतले उठाउने व्यावसायिक विकाससम्बन्धी मुद्दाको संवोधन लोकतन्त्रविना सम्भव छैन । तर, लोकतन्त्र आउनेबित्तिकै यी सब भइहाल्छन् भन्ने पनि छैन । राजनीतिक प्रणालीले पक्कै पनि फरक पार्दछ । हामी लोकतन्त्रको विकल्प सोच्न सक्तैनौं । तर, लोकतन्त्रका पनि बिभिन्न मोडल छन् । उदारवादी लोकतन्त्रले व्यक्तिगत स्वतन्त्रताको बढी वकालत गर्छ भने सामाजिक लोकतन्त्रले सामाजिक न्यायको । हाम्रो लोकतन्त्रको ढाँचा एकातिर समाजवाद उन्मुख भन्ने अर्कोतिर बजार अर्थतन्त्रमा जोड दिने खालको अलिक भिन्न प्रकृतिको छ । पक्कै पनि त्यसको प्रभाव मिडियाको विकासमा पनि परेको छ । शासक शासक नै हुन्छन् चाहे त्यो जुनसुकै प्रणाली होस् भन्ने पनि मिडियामाथि हस्तक्षेप र वेवास्ताका कतिपय क्षणमा महसुस भएको छ । अहिले कर्पोरेट मिडियाको विकाससँगै विश्वमै सम्पादकीय स्वतन्त्रता चुनौतीमा रहेको विश्लेषण भइरहेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । प्रेस स्वतन्त्रतामाथिका चुनौती कायमै छन् । पत्रकारिताका विषयवस्तु र व्यावसायिकता माथि पनि प्रश्न छन्, यिनमा हामीले सजगतापूर्वक नयाँ ढङ्गले काम गर्नुपर्ने आवश्यकता छ । चुनौती आवश्यकता पनि छन् ।
ती चुनौतीको सामना गर्न महासंघले तीन वर्षे कार्यकालमा के के ग¥यो ?
यसमा हामीले केही संवैधानिक, नीतिगत र केही व्यावहारिक काम ग¥यौं । पहिलो त संविधानमा प्रेस स्वतन्त्रताको प्रत्याभूत गराउनु नै कति चुनौती थियो र त्यसका लागि कसरी देशव्यापी आन्दोलन जरुरी भयो भन्ने सबैको स्मृतिमा ताजै हुनुपर्दछ । पहिलो, मस्यौदाको विषयवस्तु र संविधानमा समेटिएको प्रावधानलाई तुलना गरेर हेर्नुभयो भने धेरै कुरा आफै स्पष्ट हुन्छ । दोस्रो, नेपाल पत्रकार महासंघले नेपाली पत्रकारिताको बारेमा जुन मार्गचित्र तय गरेको छ, त्यसका अधिकांश विषयलाई समेटेर राष्ट्रिय आमसञ्चार नीति जारी गरिएको छ । त्यस अनुरुप नियामक निकायको स्थापना, तिनको स्वायत्तता र त्यसमार्फत् स्वनियमन प्रणालीको अभ्यासमार्फत यस्ता चुनौतीको सामना गर्न आधार तय भएको छ । व्यवहारमा पनि हामीले महासंघको विभिन्न फोरमका अतिरिक्त कहिले सम्पादकहरूसँग, कहिले बरिष्ठ पत्रकारहरूसँग र कहिले पत्रकारिता सम्बद्ध संघसंस्था त कहिले मिडियाका उपभोक्तासँग बसेर व्यावसायिक पत्रकारिताका यस्ता विषयमा काफी बहस, छलफल र सुधारका काम गरेका छौं । यसले केही न केही उपलब्धी पक्कै पनि दिएको छ भन्ने मेरो विश्वास छ । यो कुनै कार्यकालमा सकिने विषय हैन, निरन्तर चलिरहने प्रक्रिया हो ।
यस अवधिमा प्रेस स्वतन्त्रतामाथि आइपरेका सबैभन्दा प्रमुख चुनौती के थिए र त्यसको सामना कसरी गर्नुभयो ?
यस अवधिमा प्रेस स्वतन्त्रता र व्यावसायिक विकासका लागि राम्रो सुरुवात भएका छन् । राम्रोलाई राम्रो भन्नुपर्दछ, तर यही अवधिमा केही यस्ता प्रयास पनि भए जसले प्रेस स्वतन्त्रतालाई सङ्कूचित गर्ने प्रयास गरे । उदाहरणका रूपमा अदालतको अवहेलना विधेयक र अनलाइन माध्यमसम्बन्धी निर्देशिकालाई लिन सकिन्छ । हामी सबैको पहल र देशव्यापी अभियानको परिणामतः ती दुबै काम अघि बढ्न सकेनन् । हामीले रोक्यौं । ती त रोकिए नै, भावी दिनमा पनि प्रेस स्वतन्त्रतालाई सङ्कुचित गर्ने प्रयास गर्नु कति जोखिमपूर्ण कार्य हो भन्ने पाठ पनि सिकायौं । कतिपय आन्दोलन र प्रदर्शनका क्रममा पनि प्रेसलाई बन्देज गर्ने, आक्रमण गर्ने, धम्की दिने जस्ता काम भएका छन् । आन्दोलनकारीका तर्फबाट त्यस्ता कार्य हुँदा राज्यले सुरक्षा दिन वा आक्रमणपछि न्याय र क्षतिपूर्ति दिन सकेन । यसले गर्दा दण्डहीनता बढ्यो र परिणामतः सेल्फसेन्सरसीप व्याप्त हुनपुग्यो । त्यो पनि प्रेस स्वतन्त्रतामाथिको चुनौती थियो । हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय मिसनदेखि स्थलगत भ्रमण, छलफल, सम्मेलन र अनेक तहका परामर्शमार्फत तिनको सामना गर्ने प्रयास ग¥यौं । नाकाबन्दीको समय प्रेसका लागि अर्को कष्टकर अवस्था थियो, त्यसमा एकातिर मिडियाको सञ्चालन नै चुनौती बनेको थियो भने अर्कोतिर मिडियामा पनि विभाजन र ध्रुवीकरणको खतरा थियो । त्यसलाई पनि सामूहिक पहलबाट समाधान गर्ने प्रयास ग¥यौं ।
यही बीचमा देशले ठूलो भूकम्पीय विपत्ती व्यहो¥यो । भुकम्पको समयलाई कसरी सम्झनुहुन्छ ?
विनाशकारी भूकम्पको पीडा नेपाली समाजले लामो समयसम्म पनि भुल्न सक्ने अवस्था छैन । मुलुकले त्यसका कारण ठूलो जनधनको क्षति व्यहोर्नु प¥यो । दुइ वर्ष भन्दा बढी समय भइसक्दा पनि पुनर्निर्माण हुन नसकेको अवस्था सबैले देखेभोगिरहेकै छौं । महाभूकम्पबाट हामीले सञ्चार क्षेत्रका तीन जना साथीलाई गुमाउनुप¥यो भने दर्जनौं साथीले आफ्नत गुमाउनुप¥यो । धेरैको व्यक्तिगत घर भत्कियो । धेरै मिडिया हाउसका संरचना ध्वस्त भए । हामी आफै पनि त्यसका पीडित÷प्रभावित हौंं । तर, हामीलाई प्रभावित भएर बसिरहने छुट थिएन । जोखिमका बीच हामी लगत्तै अति प्रभावित क्षेत्रमा गयौं । धेरै मिडिया हाउसको भ्रमण ग¥यौं । कार्यक्षेत्रको अवलोकन ग¥यौं । जोखिमको बेला बच्ने उपाय र मिडियाको भूमिकाको सन्दर्भमा पनि काम ग¥यौं । साथीहरुलाई सान्त्वना दिने र सक्दो राहत पु¥याउने काम ग¥यौं । पत्रकारिता क्षेत्रका अन्य संगठनका साथीहरु र अग्रजहरुलाई समेत लिएर यसमा काम ग¥यौं । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकको चौतारामा केन्द्रीय समितिको बैठक नै आयोजना ग¥यौं र भूकम्प पीडितको लागि सहायोगको योजना र आह्वान ग¥यौं । देश भित्र र बाहिर रहेका धेरै साथीहरुले सहयोग गर्नुभयो । अहिले यी सबै कुरा सामान्य लाग्लान् तर भूकम्प गइरहेकै समयमा, बाटो छेकिएकै बेलामा, संरचना ध्वस्त भइरहेकै समयमा त्यहाँ पुग्नु र सहयोग गर्नु त्यो परिवेशमा निकै चुनौती थियो । जोखिमपूर्ण संरचनाले घेरिएको महाबौद्धको गल्ली भित्र भूकम्पले भत्किएको घरभित्र पुरिएका पत्रकार साथी सुमन भोम्जनको खोजी र उत्खननको समय, त्यो संरचना र निरन्तरको भूकम्पको क्षण सम्झिँदा कहाँबाट त्यो साहस (अझ दुस्साहस) आयो होला हामीमा भन्ने लाग्दछ । त्यसमा खासगरी खेलकुद पत्रकार मञ्चका साथीहरुलाई म अझ बढी सम्झन र उहाँहरुको सराहाना गर्न चाहन्छु । भूकम्पको त्यो तीतो अनुभवलाई लिएर हामीले महासंघमा आपतकालीन राहत कोष नै खडा गरेका छौं जसमा २९ लाख रुपियाको अक्षय कोष छ । भविष्यमा पर्ने विपत्तिको बेला पहिलो चरणमा हामी आफै उद्धार गर्न र उस्तै पर्दा हेलिकोप्टर चार्टर गरेरै उपचार गर्ने ठाउँमा पु¥याउन सक्ने भएका छौं । वास्तवमा त्यो क्षणको सम्झना गर्दा अहिले पनि कष्टकर लाग्दछ र जोखिमका बीच जे जति गर्न सकिन्थ्यो ग¥यौं भनेर आत्मसन्तुष्टि पनि हुन्छ ।
श्रमजीवी पत्रकारहरुको हक र हित तथा उनीहरुको पेसागत र भौतिक सुरक्षाका बारेमा महासंघको नेतृत्वले अपेक्षित कार्य गर्न नसकेका गुनासाहरु छन् । त्यसलाई तपाई कसरी लिनुहुन्छ ?
हामीले तीन वर्षसम्म मूलतः यिनै एजेण्डामा केन्द्रित भएर काम ग¥यौं । र, ठोस उपलब्धी पनि हासिल गरेका छौं । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र पत्रकारको सामाजिक सुरक्षा, पत्रकारको भौतिक सुरक्षा र नीतिगत व्यवस्थालाई उपलब्धी नै मान्नुपर्दछ जस्तो लाग्छ । पत्रकार कल्याण कोषमा रकम बढाएर गरिएका सहयोग, पत्रकारमाथि विपत्ति आइलाग्दा देशविदेशबाट जुटाएर गरिएका सहयोग, पुरस्कार कोषको स्थापना र रकम तथा विधामा गरिएका विस्तारलाई पनि बिर्सनु हुँदैन जस्तो लाग्छ । तैपनि अपेक्षित उपलब्धी भए कि भएनन् भन्ने कुरा सापेक्षित हुन्छ, तुलनात्मकरूपमा पनि यसलाई हेर्नुपर्ने हुन्छ । हाम्रो हातमा कति छ कति अरुको हातमा छ भन्ने पनि हेर्नुपर्दछ । महासंघले अझै बढी गर्नुपर्दथ्यो, गर्नुपर्दछ भन्ने कुरालाई अन्यथा भन्न मिल्दैन । त्यो अपेक्षा स्वाभाविक हो । फेरि श्रमजीवीको हकहित वास्तविक श्रमजीवीको नेतृत्वले नै गर्न सक्छ भन्ने अपेक्षा हामी माथिको विश्वास पनि हो । यसमा हामीले सक्दो ग¥यौं, इमान्दारीपूर्वक पहल ग¥यौं । थुप्रै उपलब्धी पनि भएका छन् जसको बारेमा हामीले बुँदागतरुपमा अघि पनि चर्चा गरेका छौं । साथीहरुले यसलाई बुझ्नुभएको छ भन्ने लाग्दछ ।
यो तीन वर्षको कार्यकाललाई तपाईं आफै चाहीँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
निरन्तरको प्रयास हो यो सबै कुरा । महासंघ हामी सबैको आशा र भरोसा राख्ने गौरवममय संस्था हो । यसको विरासतलाई जोगाउने र आफ्नो तर्फबाट केही ईट्टा थप्ने जसको पनि इच्छा हुन्छ । यसको सर्वोच्च नेतृत्वमा रहेर सक्दो योगदान गर्नु मेरो लागि पनि ठूलो चुनौती र अवसर थियो । सबै साथीहरुको साथ र सहयोगले सक्दो प्रयास गरियो । बढी राजनीतिक लफ्फाजी भन्दा व्यावसायिक मुद्दामा केन्द्रित भएर जे जति सकिन्थ्यो इमान्दारीपूर्वक गर्ने प्रयास गरियो । जति गर्न सकिएन, त्यो हाम्रो सीमा र कमजोरी थियो । बाँकी मूल्याङ्कन महाधिवेशनले र साथीहरुले नै गर्नुहुनेछ । तत्काल चुनाव हुने भएकोले अहिले पत्रकारबीचमै पनि विभाजित मानसिकता हुन सक्छ, समर्थन र विरोधको वस्तुगत आधार नहुन पनि सक्छ । भावी दिनमा मूल्याङ्कन हुँदै जाला, यसमा अहिले नै थप अरु केही नभनौं होला ।
महासंघको भूमिकालाई अझ बढाउन, साँच्चिकै एउटा व्यवसायिक संस्थाका रुपमा विकास गर्न के कस्ता सुधार हुनुपर्छ ? तपाईले तीन वर्षमा गर्न चाहेका वा सोचेका तर विविध कारणले गर्न नसकिएका के कुरा थिए, जुन कुरा गर्दा महासंघ साँच्चिकै नयाँ ठाउँमा पुग्छ ?
महासंघलाई ट्रेड युनियन अधिकार सम्पन्न साझा व्यावसायिक संस्थाका रुपमा नै विकास गर्ने हो । पत्रकारको हकहित र पत्रकारिताको विकास नै यसको पहिलो प्राथमिकता हुनुपर्दछ । सँगसँगै यो एउटा नागरिक संस्था पनि हो । यसले अगुवा नागरिक संस्थाको भूमिका पनि खेल्नुपर्दछ । खासगरी लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय, प्रणालीको विकास, पारदर्शिता जस्ता क्षेत्रमा यो मौन बस्न सक्तैन । पत्रकारबीचको एकता, अन्य पेसागत संस्था र नागरिक समाजसँगको सहकार्यमा यसको सशक्तता निर्भर गर्दछ । हामी पत्रकारबीचमा बाहिरबाट सङ्कट आउँदा एकजुट भएर लड्ने अनि बाह्य आक्रमण नभएका बेला आफू आफू नै लड्ने प्रवृत्ति विकास भएको छ । यसले कहिले काहीँ खुबै निरास पनि बनाउँछ । राजनीतिक रुपमा हामी एकदमै विभाजित हुँदै गएका छौं । त्यसले पनि हाम्रो स्वतन्त्र विचार निर्माण प्रक्रिया र मूल्याङ्कन प्रणालीलाई प्रभावित पारेको छ । त्यही कुरा कोही आफ्नो पक्षका हकमा एउटा मापदण्ड र अर्को पक्षको हकमा अर्को मापदण्डले हेर्ने वा हेरियोस् भन्ने सोचाइ छ । त्यसले पनि कतिपय समयमा समस्या उत्पन्न गरिदिन्छ । मलाई लाग्छ, यही कारण पनि कतिपय काम चाहेर वा गर्न सक्ने सामथ्र्य भएर पनि गर्न सकिएन । उदाहरणको रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र शुद्धिकरण अभियानलाई लिन सकिन्छ । यी गर्न सकिने र गर्नैपर्ने काम थिए, तर सोचे जति हुन सकेनन् । यद्यपि केही आधार बनेको छ, भावी दिनमा भावी नेतृत्वले यसमा थप पहल गर्ने विश्वास छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
नेपाल पत्रकार महासंघ ऐतिहासिक २५औं महाधिवेशनमा छ । बाढी, पहिरो, र सडक अवरोधका बाबजुत मा अनेक कष्ट उठाएर महाधिवेशनमा पाल्नुहुने सबै साथीहरूलाई हार्दिक स्वागत भन्न चाहन्छु । उम्मेदवार हुने साथीहरूलाई शुभकामना दिन चाहन्छु । परिस्थितिजन्य कारणले महाधिवेशन केही ढिला हुन गयो, त्यसका निम्ति म क्षमायाचना पनि गर्दछु । यो तीन वर्षको अवधिमा जति सकियो, असल मनसायका साथ गरियो । साथ, समर्थन र विश्वासका लागि म सबैप्रति आभार व्यक्त गर्दछु । व्यक्तिगत रूपमा र पूर्व पदाधिकारीको हैसियतमा महासंघ र पत्रकार साथीहरूप्रति मेरो साथ, सहयोग र सम्लग्नता रहिरहनेछ । यहाँमार्फत पनि सबै अग्रज र पत्रकार मित्रहरूका साथै महासंघका मेरा सहकर्मी कार्यसमिति पदाधिकारी तथा सदस्य, लेखा समिति संयोजक तथा सदस्य र कर्मचारी साथीहरूलाई मेरो तर्फबाट शुभकामना र धन्यवाद भन्न चाहन्छु ।