१० तरकारी तथा फलफूलमा बिषादी अवशेषको सीमा तोक्ने तयारी, हेर्नुहोस् कुन–कुनमा

काठमाडौँ, १५ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने भएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो ।

तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटिओ नोटिफिकेशनपश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्रक्रियामा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक बिषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरेको हो ।

हाल मुलुकभित्र करिब २८-२९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन् । ती बिषादी तरकारी, फलफूल, अन्यखेती बालीसँगै अन्य प्रयोगनमा प्रयोग हुन्छ । मुलुकमा स्वदेशी उत्पादनसँगै अधिकांश तरकारी र फलफूल भारत र चीनबाट आयात हुन्छ । तर, परीक्षणका लागि पर्याप्त मात्रामा प्रयोगशाला नहुँदा प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन ।

अहिले भने स्वदेशमै उत्पादन हुने तरकारीको बिषादीमा पनि सीमा तोक्न लागेको हो । यस्तै, विभागले आफु अन्तर्गत रहेका कार्यालयहरुमा अत्याधुनिक उपकरणसहित जीवनाशक बिषादीको अवशेष परीक्षण क्षमता हुनेगरी स्तरोन्ती तथा सदृढीकरण गर्न लागेको छ । तत्कालका लागि भन्सारबाट प्राप्त नमुनाहरुको दुत बिषादी अवशेष विश्लेषण परीक्षण गर्न सक्ने र तोकिएको मापदण्डभन्दा बढी देखिएमा विभागको केन्द्रीय प्रयोगशालामा पठाइने विभागको तयारी छ ।

Loading...