तातोपानी नाका खुलेपनि किन पूर्ण सञ्चालनमा आउन सकेन ?


१५ साउन, काठमाडौं । लामो प्रयासपछि तातोपानी नाका खुलेपनि पहिलेकै रुपमा सञ्चालन हुन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य रहेको हो ।

नाकापानी नाकाबाट जेठ १५ देखि असार मसान्तसम्ममा मात्रै ५३ लाख मात्र राजस्व उठेकोमा साउन यता १३ दिनमा एक करोड ३८ लाख राजस्व उठिसकेको छ ।

नाकामा भन्सार व्यवस्थित गर्ने, बैंकका काउन्टर राख्ने देखि अन्य सानातिना काम जारी छ । सबै पूर्ण भएपछि नाका पहिलेकै अवस्थामा फर्कने सरकारी पक्षको दाबी छ ।

चीनले मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि मात्रै नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको रहेपनि त्यो पुरा हुन सकेको छैन । आफ्नो तर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ गर्न दिएको छैन ।

चीनले अझै उक्त नाकालाई पूर्ण रूपमा खोल्न नमिल्ने बताउँदै आएको छ । व्यक्ति आउजाउ गर्न नपाउँदा २५ किलोमिटरसम्म आउजाउ गर्न पाउने सहमति उल्लंघन भएकोस्थानीय बासिन्दाको गुनासो छ ।

नेपालका मालबाहक गाडी तिब्बतको न्यालोम पुग्छन् । त्यहाँ सामान लोड गरेर तातोपानी सुख्खा बन्दरगाहसम्म ल्याउँछन् । त्यहाँ जाने चालक र सहयोगीको प्रक्रिया पु¥याउन समय लाग्ने भएकाले चीनले नाकामा मानिस आउजाउ गर्न नदिएको सरकारी भनाइ छ ।

सरकारी पक्षले भने चिनियाँ पक्षले थप व्यवस्थित गर्न लागेका कारण मानिस आवतजावतमा केही समय लाग्ने जनाएको छ । तिब्बतका लागि महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नाका थप व्यवस्थित गरिरहेकाले मानिस आवातजावत गर्न नदिएको बताए । ‘पुल निर्माण भइसकेको छ । गाडीमात्रै चलाउने भन्ने विषयमा पहिल्यै सहमति भएको हो । त्यही मोडलमा नाका खुलेको छ,’ उनले भने, ‘अब मानिस आउजाउ गर्न पहल गरिरहेका छौं ।’

भूकम्पले मितेरी पुलसमेत तहसनहस भएपछि नाका बन्द भएको थियो । २०७३ साउनमा भोटेकोसीले सडकलगायत संरचनामा थप क्षति पु¥याएको थियो । सबै दलका स्थानीय नेता, व्यवसायी, सरकारी निकायको लामो प्रयत्नपछि चिनियाँ पक्षले नाका पुनः सञ्चालनमा ल्याएको हो ।

चीन सरकारको सहयोगमा २० करोड रुपैयाँ (८.६२ करोड युआन) लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाह निर्माण सकिएको थियो ।