पदीय जिम्मेवारी नमिल्दा विपद् व्यवस्थापन समितिको बैठक बस्न सकेन

प्रकोप प्रभावित गम्भीर समस्यामा

काभ्रे, ३ साउन । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ ।

एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा गइसके पनि छपाइसमेत नहुनु र अर्कोतिर समितिले पूर्णता नपाउँदा काममा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले समितिले पूर्णता नपाएका कारण काम गर्न नसकेको बताए । “म आएर एक पटक बैठक बस्यौँ, पदीय हैसियतका कारण बोलाउँदा नगर/गाउँपालिका प्रमुख नै उपस्थित हुनुभएन, जसका कारण समितिले पूर्णता नपाएपछि कारण काम गर्न गाह्रो भइरहेको छ ।”

स्थानीय तहहरूले गर्नुपर्ने विपद् व्यवस्थापनका लागि के–कति बजेट छुट्याएको छ भन्ने जानकारी माग गर्दासमेत उपलब्ध नै नगराएको उनले बताए । समितिमा स्थानीय तहका मेयर/अध्यक्ष, सरकारी कार्यालयका प्रतिनिधि सदस्य र जिल्ला समन्वय समितिका समन्वय अधिकारी सदस्यसचिव रहने व्यवस्था छ । तर पदीय जिम्मेवारीमा तलमाथि भएका कारण बोलाउँदा बैठकमा समेत अनुपस्थित भएपछि काम गर्न समस्या भएको उनले बताए । उनका अनुसार समितिमा स्रोतसाधन नै उपलब्ध छैन ।

अहिले सूचना सङ्कलन र सम्प्रेषणका लागि जिल्लास्थित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र रहेको छ । चार/पाँच जना कार्यरत सो केन्द्रमा प्रहरी (सुरक्षा निकाय)द्वारा गरिएका कामको विवरणबाहेक स्थानीयस्तरमा विपद् व्यवस्थापन समितिले गरेका कुनै पनि गतिविधिको विवरण प्राप्त नभएको बताइएको छ । केन्द्रका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले असार ४ गते बसेको बैठकले जिल्ला प्रकोप पूर्वतयारी तथा प्रतिकार्ययोजना तयार गरेको जनाए पनि अहिलेसम्म त्यसको प्रकाशन गर्ने र सम्बन्धित निकायसम्म कार्यान्वयनका लागि पठाउने काम भएको छैन ।

सो योजना पुस्तिका छपाइका लागि स्रोतको व्यवस्था नहुँदा छाप्ने काम टुङ्गो नलागेको सूचना व्यवस्थापन अधिकृत घिमिरले जानकारी दिए । “अहिले तयार गरी छाप्नका लागि प्रेसमा पठाउने काम भएको छ”, उहाँले भन्नुभयो, “तर त्यसका लागि छपाइ खर्चको व्यवस्थापन हुनसकेको छैन ।” उनका अनुसार जिल्लाको १३ स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिकाले स्थानीय तह विपद् व्यवस्थापन समिति गठन गरेको भए पनि आफ्नो स्थानीयस्तरमा कहाँ के भयो भन्नेसम्म पनि सूचना दिएको छैन ।

वर्षाका कारण रोशीमा क्षति

अविरल वर्षाका कारण बाढीपहिरो गएर जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी भौतिक क्षतिको हिसाबले रोशी गाउँपालिमा भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रोशी गाउँपालिकामा असार २७ गते नजिकैको भीमेश्वर माध्यमिक विद्यालयको ‘कम्पाउण्ड’ पर्खाल भत्केर घर पुरिँदा एक जनाको निधन भएको थियो । घर पूर्णरूपमा क्षति भएको छ । सोही ठाउँमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर स्थानीय रुद्रलाल श्रेष्ठको घर बगाएर पूर्णरूपमा क्षति भएको छ । मानवीय क्षति नभए पनि एक हल गोरु, दुई भैँसी र सात खसीबाख्रा क्षति भएको केन्द्रले जनाएको छ ।

रोशी गाउँपालिका भएर चल्ने विपी राजमार्गमा सञ्चालित क्रसर र ढुङ्गाखानीका कारण सडकमाथिबाट पहिरो खस्दा र खहरेखोलाबाट गएको बाढीका कारण राजगमार्ग दुई दिनसम्म अवरुद्ध भएको र स्थानीय सरकार, सुरक्षा निकायको पलहमा दुई दिनपछि एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो । त्यस्तै असार २७ गतेकै अविरल वर्षाका कारण बनेपा नगरपालिका–३ चुनातालमा घरमाथिबाट गएको पहिरोका कारण दुईको निधन हुनुका साथै दुई घाइते भएका थिए । घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै जमीन भासिएर सोही ठाउँका सत्यनारायण दाहालको आशा पोल्ट्री फार्मको टहरा पूर्णरूपमा क्षति भई एक हजार कुखुरा नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ ।

यता धुलिखेल नगरपालिका–११ मा नरेन्द्र ढकालको होटलमाथिबाट पहिरो गई फलामको ट्रष्ट केही भागमा क्षति हुँदा रु ३० हजार बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ । केन्द्रसँगको विवरणमा त्यति उल्लेख नरहेको भए पनि जिल्लाको चौरीदेउराली गाउँपालिकाको वडा नं ४ र ५ का गरी १५ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा समिति सक्रिय

अधिकांश स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरेर काम गरिरहेको भए पनि त्यसको विवरण भने जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग उपलब्ध नभएको पाइएको छ । तर, स्थानीयस्तरमा भने समिति गठनदेखि सञ्चालन कोषसमेत गठन गरी काम गरिरहेको स्थानीय तहहरुले जनाएका छन् । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नगरपालिकास्तरमा समिति गठन गरी रु ३० लाख बराबरको कोष खडा गरी काम भइरहेको बताए । नगरपालिकाले ऐनसमेत निर्माण गरी काम गरिरहेको र सबै वडामा विपद् व्यवस्थापन समितिसमेत गठन गरेर काम गरिरहेको दाबि गरे ।

पनौती नगरपालिकाले समिति गठनसँगै विपद् सूचना केन्द्रसमेत स्थापना गरी काम गरिरहेको छ । गत वर्ष नै विपद् सञ्चालन कोषको नीतिसमेत तयार गरी त्यसमार्फत विवरण सङ्कलन गरी काम गरिरहेको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । उनका अनुसार केही दिनअघि भएको अविरल वर्षाका कारण भूकम्पपश्चात निर्माण गरिएका २०/२५ घरहरु क्षति भएको र दुई भैँसीसमेत मरेका कारण त्यसको प्रहरी मुचुल्कासँगै विवरण सङ्कलन गर्ने काम भइरहेको छ । पनौती नगरपालिकाले रु २५ लाखको कोष स्थापना गरेको जनाएको छ ।

नमोबुद्ध नगरपालिकाले पनि समिति गठन गरी स्थानीयस्तरमा विपत्मा परेकालाई सहयोग र आवश्यक व्यवस्थापनका लागि प्रयत्न गरिरहेको छ । अहिले अविरल वर्षाका कारण धेरैजसो सडक सञ्जालमा क्षति भएको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

जिल्लाको विकट महाभारत गाउँपालिकामा भने स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी रु २० लाखको कोष स्थापना भए पनि बैठक भने बस्न नसकेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । केही दिनअघि भएको अविरल वर्षाका कारण पुगेको क्षतिको विवरण भने वडास्तरबाट सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ छ ।

खानीखोला गाउँपालिकामा विपद् व्यवस्थापन समितिबाट क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण खुलालले जानकारी दिए । खानीखोला गाउँपालिकामा मानवीय क्षति नभए पनि पाँच वडामा गरी ७५ घर भत्केको बताए । “यो वर्ष हाम्रा लागि दोस्रो भूकम्पजस्तै भयो”, उनले भने, “अविरल वर्षाले विद्यालय भवनसँगै अधिकांश सडकमा क्षति पु¥याएको छ ।” बनेपा नगरपालिकालगायत केही स्थानीय तहमा भने स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्न बाँकी रहेको जनाइएको छ ।

Loading...