प्रकोपबाट ३ महिनामै १९५ को मृत्यु

काठमाडौँ, ६ साउन । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदङ्श छ, हवाई दुर्घटनाबाट तीन जना र अन्य तीन जनाको मृत्यु भएको बताए ।

विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ ।

सबैभन्दा बढी क्षति बाढीबाट एक अर्ब पाँच करोड पाँच लाख चार हजार रुपियाँ क्षति भएको छ । बाढीपछि आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख तीन हजार रुपियाँ, चट्याङबाट २६ लाख दुई हजार रुपियाँ, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय रुपियाँ र जनावर आतङ्कबाट नौ लाख १९ हजार रुपियाँ क्षति भएको जनाइएको छ ।

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् ।

यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आङ्शिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी एक हजार १७८ पशु चौपया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनवार आतङ्कबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट छ वटा चौपया मरे । केही दिन अघि आएको अविरल वर्षाका कारण करीब ९० जनाको ज्यान गएको थियो ।

Loading...