विकासनिर्माणमा महानगर नै बेखबर

काठमाडौँ, ६ साउन । काठमाडौँका तीन स्थानमा निर्माण भएका सडक केही समयमै उप्केको भनी महानगरपालिकामा उजुरी प¥यो । काठमाडौँ महानगरपालिकाका तीन फरकफरक वडामा भएका सडक निर्माणमा समस्या के थियो भन्ने बुझ्दा ती तीनै ठाउँमा कामपाले सडक निर्माण नगरेको पाइएको थियो । सङ्घीय सरकारले सडक निर्माण गरेको भए पनि कामपाभित्रको सडक भएकाले स्थानीयवासीले महानगरमा नै गुनासो गर्न आएका थिए ।

कामपाले गत आवमा महाराजगञ्ज, चाबहिललगायत स्थानमा आकाशेपुल निर्माणको योजना बनाएको थियो । महाराजगञ्ज चोकमा चीन सरकारको सहयोगमा चक्रपथ विस्तारको काम हुने भएको छ भने चाबहिलमा सरकारले सडक विस्तार गरिरहेको छ । यिनै कारणले यी स्थानमा कामपाले पुल निर्माण गर्न सकेन । अहिले पनि काठमाडौँका धेरै चोकमा कामपाले पुलको निर्माणको योजना बनाएको छ भने सङ्घीय सरकारले पनि तीनै स्थानमा ‘फ्लाइ ओभर’, ‘अण्डरपास’ वा ‘सव वे’ निर्माणको योजना बनाएको छ ।

कामपाभित्रै भइरहेका वा भइसकेका विकासनिर्माणका विषयमा महानगर अनभिज्ञ रहेका यी दुई उदाहरण मात्रै हुन् । ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराका साथ नयाँ संविधानमा स्थानीय तहलाई जिम्मेवार र अधिकारसम्पन्न बनाइएको छ । सङ्घीय राजधानी काठमाडौँमा रहेको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने कामपा भने आफ्नो क्षेत्र भित्र भइरहेका योजनाका बारेमा जानकारी पाउँदैन ।

जनतासँग प्रत्यक्ष ठोकिने हुनाले महानगरभित्र भएका सबै निर्माणका बारेमा जनताले महानगरसँगै प्रश्न सोध्ने गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार यहाँ निर्माण भइरहेका निर्माणमा कुनै पनि समस्या आउँदा जनता कामपामा नै आएर प्रश्न गर्छन् तर कामपा कसरी समस्या आयो भन्ने मात्रै होइन कुन निकायले निर्माण गरेको भन्नेसमेत जानकारी नभएको उनले बताए । उनले भने, “महानगरवासीले हामीलाई प्रश्न गर्नु स्वाभाविक हो तर हामीलाई पनि त्यसको जवाफ अरु निकायमा खोज्नुपरिरहेको छ ।”

निरन्तर वर्षाका कारण गत साता सुन्धारा–त्रिपुरेश्वर सडक जलमग्न भएको थियो । सडकको पानी व्यवस्थापनको जिम्मेवारी शहरी विकास मन्त्रालय, खानेपानी तथा ढल निकास विभागको भएकाले आफूले हेरेर मात्रै बस्नुपरेको प्रवक्ता डङ्गोलले बताए । स्थानीयवासी पानी हटाउनुप¥यो भन्दै कामपामा आएका थिए । भने, “तर हामी आफैँ आफ्नो अधिकार क्षेत्र नभएकाले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था थियो ।”

Loading...