राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ– मुख्यमन्त्री राई

विराटनगर, ६ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह समेत गरे । आर्थिक प्रलोभनमा पर्ने कर्मचारीका सूचना आफूलाई प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री राईले निर्देशनको क्रममा कर्मचारीले आजैदेखि आफ्ना व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिए ।

उनले चालु आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्नुपर्ने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उनले नतिजामा आधारित अनुगमनको प्रबन्ध मिलाइने दाबि गरे । कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले यस्तो काम अविलम्ब रोक्न कर्मचारीलाई निर्देशन दिए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले गएको आर्थिक वर्षमा पूँजीगत खर्च ५८ प्रतिशत भएको जानकारी दिए । उनले कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत प्रगति देखाउने र कार्यालयको प्रगति ५० प्रतिशत पनि हुने कर्मचारीका मूल्याङ्कन सोही आधारमा हुने जानकारी दिए। उनले भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि गर्नु जरुरी छ समेत भन्न भ्याए ।

Loading...