फेसबुकबाट १ महिनामै ८० लाख ठग्ने गिरोह प्रहरी नियन्त्रणमा

काठमाडौ, ३१ असार । ‘सस्तो बेसाए पखाला लाग्छ’ भन्ने नेपालीमा एउटा उखान नै छ । तरपनि मानिसहरु सस्तोको पछि दौडने गर्नाले ठगहरुलाई ‘के खोज्छस नेत्रविहीन- आँखा’ भनेझै भएको छ ।

सस्तो सामान उपलब्ध गराइदिने भन्दै सामाजिक संजालमा आएका सूचनाहरु पत्याइहाल्ने र पैसा फ़साइहाल्नेहरु ठगको चंगूलमा परेका पनि हुन्छन । यस्तै सूचनामा विश्वास गर्दा ठगिएकाहरुको जाहेरीको आधारमा प्रहरीले ३ ठगलाई समातेको छ । उनीहरुलाई प्रहरीले खुशिबुबाट समातेको हो ।

फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखा टेकुको विशेष टोलीले पक्रेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं -१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी महानगरपालिका सोनमा गाउँपालिका- ७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय यमदादुल मोमिन रहेका छन् ।

उनीहरुमाथि तारा ग्याजेट नामक पेज सञ्चालन गरी सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेर ठगेको आरोप लागेको छ । ब्रान्डेड मोबाइल, ल्यापटप, क्यामेरा, घडी लगायतका सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने विज्ञापन गरी उनीहरुले एक महिनाको अवधीमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगेको खुल्न आएको बताइएको छ । उनीहरुको ठगी धन्दा बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुनसमेत आग्रह गरेको छ ।

Loading...