म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधबैँशे मतिर फर्केर मुसुक्क हाँस्यो ।
“नमस्कार नेताज्यू”
मैले नमस्कार फर्काएँ । मलाई किन हो कुन्नि नेताज्यू भनेर सम्बोधन गरेको त्यति मन पर्दैन । लोकतन्त्रको लागि, सामाजिक परिवर्तनको लागि आफूले सकेको योगदान गरेको हो । जहीं तहीं नेताज्यूको मान पदवी मेरा लागि सौखको विषय होइन, बोझको विषय हो । फेरि निधार र आँखाको भरमा मैले उसलाई चिन्नसकेको अवस्था थिएन । म असमन्जस्यमा परें ।
उसले मास्क तल सार्यो र अनुहार मतिर फर्कायो ।
“नेताज्यूले मलाई चिन्नु भएन क्यारे । सम्झनुस् त एकपकट…।”
“अनुहार त देखिराखेको हो तर मैले तपाईंको नाम खुट्याउन सकिन”—मैले भनें ।
“चुनाव सकिएपछि त नेताले कसलाई सम्झन्छन् र ? सबै नेता उस्तै त हुन् नि !” उसले आक्रोश पोख्यो ।
उसको अगाडि निरीहता प्रकट गर्नु बाहेक मसँग कुनै विकल्प थिएन । वरिपरि बसेका यात्रुहरु उसकै समर्थनमा रहेको भाव दर्शाउँदै थिए । यस्तो लाग्दथ्यो मानौं मैले कुनैबेला भेटेको त्यो यात्रुलाई नचिन्नु मेरो अपराध थियो ।
“म साँगाको गोकुल क्या”—उसले भन्यो ।
“ए अँ हगि म त कस्तो हुस्सु भएको ? तपाईं र मेरो धेरै वर्ष पहिले तपाईंकै टोलमा एउटा भेलामा भेट भएको होइन ?” मैले सम्झें ।
“अँ त्यो दिन तपाईंले मेरो घरमा खाना खाएको होइन ?”
“हो,” मैले त्यो प्रसङ्ग नसम्झिए पनि सम्झिएको अभिनय गरें ।
“अनि आज त सार्वजनिक सवारीमा चढ्नु भएछ । आज आफ्नो गाडी चाँहि कता गयो नि ?”
“मेरो निजी गाडी छैन । म सधैं सार्वजनिक सवारी साधनमा यात्रा गर्छु”—मैले भनें ।
“सिंहदरवारको त्यत्रो उच्च ओओदामा पुगेको मान्छे, एउटा नाथे गाडी पनि किन्ने पैसा पनि कमाउन सक्नु भएन ? तपाईंले राजनीति गरिखानु हुन्न ?” उसले निष्कर्ष सुनायो ।
उसले थप्यो—“पैसा नभई नेता बन्न सकिदैन नि नेताज्यू ”
“किन ?” मैले तुरुन्त प्रश्न गरें ।
ऊ बेलिविस्तार लाउन थाल्यो– “नेतालाई पकेट खर्च चाहियो, कार्यकर्ताको भरणपोषण गर्नुपर्यो, चुनावमा भोट किन्नु पर्यो, गाडी बङ्गला चाहियो । चाहिएन ? यस्तो पाराले तपाईंको पछि को लाग्छ ?”
“म गाडी र महल जोड्ने पैसा कमाउन राजनीतिमा लागेको होइन, तपाईलाई थाहा नै छ मेरो पार्टी त सर्वहारा श्रमजीवीको पार्टी हो ।”— मैले पनि आफ्नो निष्कर्ष सुनाएँ ।
“गाडी, महल जोड्नेमात्र उद्देश्य भए त उद्योग, व्यवसाय वा जागिरतिर लागे भइहाल्थ्यो नि !” मैले थपें ।
“पुरानो आदर्श, नैतिकता र इमान्दारीले अब राजनीति गर्न सकिन्छ र नेताज्यू ?” उसले ओठ लेप्र्यायो ।
“नैतिकता, आदर्श र इमान्दारी पनि नयाँ र पुरानो भन्ने हुन्छ र ?” मैले प्रति प्रश्न गरें ।
“भनेर हुन्छ र नेताज्यू ? तपाईंभन्दा धेरै पछि राजनीतिमा आएका, तपाईंको पार्टीमा आएका नेताले ओहोदामा रहँदा गाडी बङ्गला जोडेको कसले देखेको छैन र ? ती नेताले तलदेखि माथिसम्म सबैतिर सेटिङ्ग मिलाएका हुन्छन् रे ! उनलाई नजराना र कमिसन बुझाउने मानिसको लाईन लाग्छ उनको घरमा । उनीहरुको कत्रो शान कत्रो रवाफ । गाडीका लावालस्कर लिएर हिड्छन् हिजो आज । तपाईं त ख्वै”—उसले ‘सहानुभूतिपूर्वक’ मेरो शीरदेखि तीरसम्म निहाल्यो । मेरो सामान्य पहिरन, फाट्न लागेका जुत्ता, सुन विहिन शरीर उसलाई पटक्कै मन परेन । देशमा विकराल बन्दै गएको भ्रष्टाचारको प्रमुख कारण नेताले आफ्नो सुख सुविधाको लागि राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति नै हो भन्ने उसलाई छेउटुप्पो थाहा नभएको देख्दा मलाई टीठ लाग्यो ।
बानेश्वरको जामबाट गाडी अगाडि बढ्न सकेको थिएन । मलाई त्यो साथीसँग चाँडोभन्दा चाँडो छुट्न मन थियो । समय कटाउन मैले उसलाई एउटा हीरा खाने मुसाको कथा सुनाउन थालें ।
“एउटा हीरा पसलमा कुनै बेला एउटा मुसो पसेछ । मुसाले हीरा खाएर हैरान पार्न थालेछ । हीरा पसलेले हीरा खाने मुसा पत्ता लगाउन एक व्यक्ति नियुक्ति गरेछ । उसले घर भरिका सबै मुसालाई एउटा कोठामा जम्मा पारेछ । एउटा मुसो चाँहि मुसाहरुको समूहभन्दा छुट्टै बस्दथ्यो । उसको चाल डाल अरु सबै मुसाभन्दा फरक थियो । त्यो व्यक्तिलाई हीरा खाने मुसा पत्ता लगाउन अप्ठ्यारो परेन ।”
“मतलव ?”
“मतलव मलाई देशको हीरा (राजश्व) खाएर अलग्गै बस्नु छैन । जनताभन्दा छुट्टै शान र रवाफमा बाँच्नु छैन । मेरो जीवनको लक्ष्य त्यो होइन । विल्कुल होइन ।” मैले प्रष्ट्याउन खोजें ।
“खै के खै के ?” ऊ मसँग सहमत देखिएन ।
“मौका पाएर पनि केही गर्न नसक्ने तपाईं नामर्दै हो नि !” उसले मलाई झन हेय भावमा हेर्यो । मेरी श्रीमतीले घरको अभाव देखाएर बेलाबेला “नामर्द” भनेर मसँग झगडा गरेको सम्झें ।
“घुस र कसिसन नखाने नामर्द खानेचाहिं बहादुर, वाह !” भनेर ऊसँग झगडा गर्न मन थियो मलाई । तर, त्यसको मैले कुनै अर्थ भेटिन किनभने उसको दिमागमा सबै नेता देश लुट्न जन्मेका हुन् भन्ने धारणाले जरा गाडिसकेको प्रतित हुन्थ्यो । नेता भएपछि पैसाको छेलोखेलो गर्न पाईन्छ भन्ने बुझेको छ उसले ।
बस सूर्यविनायक पुग्यो । गोकुल र म छुट्टियौं । म एउटा प्रशिक्षण कार्यक्रममा जानु थियो । एक घागडान नेताले ‘असल नेतामा हुनुपर्ने गुणहरु’ विषयमा प्रशिक्षण दिने कार्यक्रम थियो । उनको धाराप्रवाह प्रवचन शैली लोभ लाग्दो थियो । उनले भियतनामी कम्युनिष्ट नेता हो ची मिन्हको असल नेता काम गर्ने बेला जनताको अगाडि र खानेबेला जनताको पछाडि बस्नुपर्छ भन्ने भनाई सुनाए । सबैले ताली बजाए ।
कार्यक्रम पछि जलपानको आयोजना गरिएको थियो । सहभागीहरु लाईन लागेर जलपानमा सहभागी हुँदै थिए । सहभागीले खानु अगावै नेताहरुलाई मञ्चमै पकवान टक्र्याई सकिएको थियो ।
“समाज बदलिसकेको छ, कहाँ बुढा हो ची मिन्हको पालामा जस्तो चल्छ अहिले ? लिस्योस् हजुर, लिस्योस् !” प्रमुख अतिथि नेतालाई कोही भनिरहेथ्यो । हनुमानगिरी गरिरहेथ्यो ।
(लेखक गरीबी निवारण कोषका उपाध्यक्ष हुनुहुन्छ)