द डार्क एण्ड लाईटको ट्रेलर र गीत रिलिज

काठमाडौं । चलचित्र ‘द डार्क एण्ड लाईट’ को अफिसियल ट्रेलर र गीत रिलिज गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो ।

खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।

गीत तथा ट्रेलर रिलिज समारोहमा बोल्दै गीतकार राजेन्द्र थापाले भने, ‘कतिपय मैले लेखेका गीत गायिका वा फिल्म टिमको व्यक्तिसँग ठ्याक्कै मिल्न पुगेको घटना छ । ४५ वर्ष अघि लेखेको गीत पोहोर साल खुसी फाट्दामा अरुणा लामाले स्वर दिनुभयो । पछि उहाँको जीवनमा पनि त्यस्तै घटना घट्यो । अहिले फिल्मका निर्माता पिटर जिको पनि गीतमा भने जस्तै पारिवारिक काण्डले कमिसन दिनुपर्ने अवस्था आइपरेको छ ।’ संगीतकार दीपक शर्माले गीत राम्रो बनाउने कोसिस गरेको बताए । यता फिल्म लेखन, निर्माण तथा अभिनयको पाटो सम्हालेका पिटर खालिङले ‘डार्क एण्ड लाईट’ हरेक व्यक्तिको जीवनमा मेल खाने बताए । उनले जीवनको अध्यारो र उज्यालो पाटो दुवै हुने भन्दै फिल्म गर्दा अनेकन जालझेल भोग्नुपरेको अनुभव सुनाए । झण्डै ८५ लाख फिल्ममा लगानी गरेको उनको भनाइ छ । यता गायिकाबाट निर्मात्री बनेकी सरस्वतीले फिल्ममा समावेश ‘राधा किसन’ जस्तो गीत नेपालको कुनै गायिकाले गाउन नसक्ने दाबी गरिन् । फिल्ममा आफू बोल्ड नेगेटिभ चरित्रमा रहेको खुलासा गरिन् ।

चलचित्रमा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । खेलाडी समेत रहेकी शेसुका फिल्ममा एक्सन अवतारमा देखिएकी छिन् । निर्माण यूनिटले यो चलचित्र एक्सन लभस्टोरी जनरामा केन्द्रित रहेको जानकारी दियो । चलचित्रमा सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा सविन भट्टराईको छायांकन रहेको छ ।

यो चलचित्र आगामी भदौ ६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सरोज शर्मा र सुनिता भट्टराईले वितरण गर्ने बताइएको छ ।

Loading...