बाढीमा फसेका ५ मजदुर फलामको पोल समातेर उद्धारको पर्खाइमा, सिमेन्ट उद्योग नै बगायो

धादिङ, ३० असार । लगातार परेकाे पानीले देशभर ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । यसैक्रममा धादिङमा रहेकाे एक सिमेन्ट उद्याेगकाे निर्माणाधीन संरचना नै बाढीले बगाएकाे छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माण हुँदै गरेकाे ह्वासिन सिमेन्ट उद्योगको संरचना साेमबार राति आएको बाढीले बगाएकाे हाे । स्थानीय ताल्ती खाेलामा अाएकाे बाढीले उद्याेगकाे संरचना बगाउनुका साथै उद्याेगमा रहेका ५ जना मजदुर त्यहाँ फसेकाे बताइएकाे छ ।

उद्योगका सूचना अधिकारी तुलसीजंग थापाले साेमबार राति स्थानीय ताल्ती खोलामा आएको बाढीले उद्योग बगाएको जानकारी दिए । उद्याेगले ताल्तीस्थित खोलालाई नियन्त्रण गरी सिमेन्ट उद्योगको निर्माण थालेकाे थियाे ।

रातिको समयमा बाढी आएका कारण त्यहाँ रहेका पाँच जना मजदुर बाढीमै फसेका थापाले बताए । उद्याेगकाे दुवैतर्फ खोला बगेकाले बीच भागमा उनीहरु रहेका छन् । त्यहाँ उनीहरुले फलामका पोल समातेर बसिरहेकाेे बताइएकाे छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरी टोली खोलामा फसेका मजदूरको उद्धारका लागि गएकाे छ । रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेका छन्।

१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ। नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको हो।

Loading...