धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ एक हृदयविदारक घटना घटेको छ । करिब साढे ८ बजे आफ्नै छोराले आमाको ज्यान लिएपछि सिङ्गो गाउँ स्तब्ध बनेको छ ।
३० वर्षीय यमबहादुर कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आरोपित कडेंललाई घरमै पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा अत्यन्त भयावह अवस्थामा शव फेला परेको थियो । आमाको शरीर र टाउको अलग्गिएको अवस्थामा भेटिएपछि प्रहरीले दुईवटा मुजुल्का तयार गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाएको बताएको छ ।
घटनाको कारण भने अझै स्पष्ट हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार घटनाको सम्पूर्ण पृष्ठभूमि र कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।
स्थानीयले जनाए अनुसार घटना हुँदा घरमा आरोपितका ७७ वर्षका बुवा र भान्जाभान्जी थिए । खुडा प्रहार गरी उनले आमाको हत्या गरेपछि गाउँलेहरुमा प्रहरी नपुगुन्जेल त्रासको वातावरण थियो ।
आफ्नी आमाको हत्या आरोपमा पक्राउ परेको युवक जेनजी आन्दोलनमा दर्जनौं प्रहरी सामू उभिएर आफूलाई गोली हान्न लल्कार्ने युवा हुन् ।
आन्दोलनको बेला उनले म महिनामा १ लाख कमाउछु तर देशको पीरले शान्तिसंग सुत्न सक्दिन भनेर बोलेको भिडियो सामाजिक संजालमा यतिबेला थप भाइरल बनेको छ ।






