विपरित दिशाबाट आएका यात्रु बस ठोक्किदा चालक स्टेरिङमै च्याप्पिए, ३४ यात्रु घाइते

सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् ।

घटना शुक्रबार साँझको हो । साँझपख एउटा बस सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको थियो भने अर्को बस बुटवलबाट सुर्खेत आउँदै गरेको थियो । यसरी विपरित दिशाबाट आएका बस सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरीमा पुगेपछि एकापसमा ठोक्किएका हुन् ।

सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

नेपालगञ्ज जाँदै गरेको काँक्रेबिहार बसका चालक स्टेरिङमै च्यापिएका थिए । नेपालगञ्ज उपमहानगरपालिका निवासी चालक २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाका गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्षीया स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा १ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।

बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ ।

Loading...