भारतीय बाँधले वर्षासंगै बाँकेवासीको चैन खोस्यो

नेपालगंज, २७ असार । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटमा बासिन्दा त्रसित बनेका छन् । भारतले गैरकानुनी रुपमा बनाएको लक्ष्मणपुर बाँध र त्यसको परिपूरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बर्सेनि जनधनको क्षति हुँदै आएको कारण बर्षासंगै बाँकेबासीको चैन हराउने गरेको हो ।

गत वर्ष बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु हुनाको साथै ठूलो जनधनको क्षति भएको थियो । बाँकेमा नदी तटीय क्षेत्रका झण्डै ५० हजार व्यक्ति बाढीबाट प्रभावित भइरहेका छन् । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण २ हजार ५ सय बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने ४ हजार बिघामा उर्वाराशक्ति ह्रास भएको छ । राप्ती नदीको कटान, पटान र डुबानबाट बाँकेका करिब ३१ भन्दा बढी गाउँ प्रभावित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

स्थानीय प्रशासनले नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् । बाँकेमा यो वर्ष जोखिम कम गर्न बहाब बढेर खतराको चिह्नभन्दा माथि आएपछि साइरन बजाउने बताइएको छ । तत्काल उद्धार र राहतकालागि , नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा तैनाथ गरिएको प्रजिअ भुजेलले जानकारी गराएका छन ।

नेपाल डुबाउने बाँध बाँकेमा मात्र छैन। सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले नेपालबाट बग्ने नदीलाई गैरकानुनी रुपले अग्लो बाँधले छेकेर नहर प्रणालीमार्फत एकआपसमा जोड्दा पानीको प्राकृतिक बहावलाई असर गर्ने हुदा देशभर धेरै ठाउँका मानिस वर्षामा आनन्दले सुत्न सक्दैनन् ।

Loading...