प्रहरीको गोली लागी विप्लवका भोजपुर इन्चार्ज पनि मारिए

काठमाडौं, २५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भोजपुरका इन्चार्ज प्रहरीको गोली लागि मारिएका छन् ।

बुधवार बिहान साढे ८ बजेको समयमा भोजपुरको सदरमुकाममै नेकपाका भोजपुर इन्चार्ज निरकुमार राई मारिएका हुन् । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको बताएको छ ।

भोजपुर सदरमुकामको हटिया लाइनमा बिहान साढे ८ बजेपछि गोली चलेको स्थानीयले जनाएका छन् । सो क्रममा विप्लवका जिल्ला इन्चार्जसँगै सञ्जीव राई नाम गरेका प्रहरी जवान पनि मारिएका छन् । सञ्जीव घुमुवा प्रहरी अर्थात अनुसन्धान विभागका कार्यरत प्रहरी भएको स्थानीयले बताएका छन् । सञ्जीपको घर खोटाङ रहेको र उनी केही समयदेखि भोजपुरमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका नेकपाका भोजपुर जिल्ला इन्चार्ज नीर कुमार राई भोजपुरकै षडानन्द नगरपालिका–१३, बोयाका निवासी हुन् । उनी बुधवार अाफ्नाे परिवारलाइ भेट घर अाएका बेला मारिएकाे बुझिएकाे छ । नीरको कन्चटमा गोली लागेको र प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको बताइएको छ । संजीप यसअघि लामाे समय नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड भएका थिए।

घटनामा एक अर्का प्रहरी समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते हुने प्रहरी सोमनाथ भट्टराई रहेकाे र उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

यसअघि प्रहरीको गोली लागेर भोजपुरकै टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ का तिर्थराज घिमिरेलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको धरानमा ल्याइ उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

त्यसैगरी केही समय अघि मात्र प्रहरीले विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलेको पनि गोली हानेर हत्या गरेको थियो । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १, १० र ११ नम्बर वडा सिमाना पर्ने पलार हिरापुर जंगलमा पौडेललाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । तर, प्रहरीले उनको पनि भिडन्तमा मृत्यु भएको दावी गर्दै आएको छ ।

Loading...