भोजपुर सदरमुकाममै नेकपा र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु

काठमाडौं, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको खबर आएको छ ।

गोली हानाहानमा एक जना प्रहरी र एक जना विप्लवका कार्यकर्ताको मृत्यु भएको बताइएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा उक्त गोली हानाहान भएको बताइएको छ ।

भिडन्त बुधबार बिहान ८ बजे भएको प्रहरीले दावी गरेको छ । भिडन्तमा मारिएका नीरकुमार राई ‘प्रशान्त’ नेकपाका ओखलढुंगा इन्चार्ज रहेको बुझिएको छ । प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको दावी गरेको छ। उनी भोजपुरको षडानन्द नगरपालिका–१३, बोयाका हुन ।

त्यसैगरी खाेटाङ घर भएका प्रहरी जवान सञ्जीव राई घुमुवा प्रहरी भएकाे बताइएकाे छ । उनी मारिएका छन भने भिडन्तमा १ प्रहरी घाइते भएकाे बताइएकाे छ । घाइते हुने प्रहरी सोमनाथ भट्टराई रहेकाे र उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

मारिएका मध्ये नीरकुमारकाे कन्चटमा र संजीवकाे छातीमा गोली लागेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Loading...