विषाक्त च्याउ खाँदा पाँचजना बिरामी ! तीन बालबालिकाको आइसियुमा उपचार हुँदै

हेटौँडा, २० असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । बिरामी मध्ये तीन बालबालिकालाई सघन उपचार कक्ष आइसियुमा राखी उपचार थालिएको छ ।

पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त च्याउ खाँदा बिरामी परेका हुन् । त्यसैगरी छिमेकी ७ बर्षीय अनिता बल पनि उनीहरुसँगै च्याउ खाँदा बिरामी भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन ।

बिहिबार साँझको खानामा च्याउको तरकारी खाएका उनीहरुलाई मनहरीसस्थत प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि राति नै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगी उपचार थालिएको थियो । बिरामीहरुमध्ये ९ बर्षीय महेश थोक्रा, ७ बर्षीया अनिता बल र साँढे २ बर्षीया मनिषा थोक्रालाई आइसियु कक्षमा राखी उपचार गरिएको अध्यक्ष उप्रेतीले बताए ।