भक्तपुरमा छोरीले आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै विमाको आशमा रौतहटमा बाबुले गरे छोरीको हत्या

रौतहट, २० असार । पछिल्लो समय नेपाली समाज क्रूर बन्दै गइरहेको  छ । यसैक्रममा रौतहटमा पनि त्यस्तै क्रूर घटना घटेको छ । भक्तपुरमा प्रेमीसँग लागेर एक छोरीले आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै रौतहटमा एक बाबुले विमा वापत पाउने रकमको लोभमा आफ्नी ४ वर्षीय छोरीको हत्या गरेका छन् ।

छोरीको विमा गराएका रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले विमा वापत पाउने रकमको लोभमा ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् ।

रामकिशोरले असार १७ गते घरमा सुतिरहेकी छोरीलाई हत्या गरेर पोखरीमा फालेको अनुसन्धानबाट खुलेको छ । घरमा सुतिरहेकी छोरी एकाएक हराएपछि उनका आफन्त र गाउँलेहरुले खोजी गरेका थिए । एकाएक हराएकी ४ वर्षीया बालिका लक्ष्मीको भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा शव भेटिएको थियो ।

प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा उनकै बाबु सम्लग्न भएको भेटाएको हो । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा बालिकाका बाबु रामकिशोरको गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गरेपछि उनले विमा वापत पाउने रकमको आशले छोरीलाई आफैले हत्या गरेको स्वीकार गरेका हुन् ।

रामकिशोरले छोरी लक्ष्मीको गत १९ जेठमा मात्र २५ लाखको जीवन बीमा गराएको बुझिएको छ । रौतहटकै गरुडामा रहेको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा पुगेर उनले छोरीको जीवन विमा गराएका उनले केही महिना नबित्दै हत्या गरेर उक्त रकम लिने लोभ राखेको बुझिएको छ । रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले रामकिशोरले छोरीको हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रहरीले अनुसन्धान गर्दा छोरी लक्ष्मी राति आमासँगै सुतिरहेको र सुतिरहेकी रामकिशोरले उठाएर लगेको थाहा भएको छ । सुतिरहेकी छोरीलाई बोकेर लगी नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले आफैले प्रहरी बयानमा स्वीकार गरेका छन् । प्रहरी बयानमा उनले बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको बताएका छन् ।

Loading...