विप्लवको बन्द : ठाउँठाउँमा बम, यातायात ठप्प, जनजीवन प्रभावित

काठमाडौं १० असार । सर्लाहीमा प्रहरी कारवाहीमा मारिएका आफ्ना जिल्ला नेता कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले गरेको बन्दको असर शैक्षिक संस्थामा सबैभन्दा बढी परेको छ । शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन पनि ठप्प छन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बाहिरबाट आएका सवारी साधन प्रवेश गरेका छन् भने यहाँ पनि सवारी साधन पनि कम चलेका छन् । टिकट काउन्टर फाट्टफुट्ट खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार १ नम्बर प्रदेशमा सवारी साधनहरु चलेका छैनन् । बाहिर जाने सवारी साधनहरु नछुटेको, काउन्टरहरु बन्द रहेको र शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेको बताइएको छ ।

प्रदेश दुईमा लामो दूरीका सवारी साधन चलेका छैनन् । तर बजार, कारखाना ७५ प्रतिशतजति खुल्ला रहेको प्रहरी दाबी छ ।

३ नम्बर प्रदेशमा लामो दूरीका सवारी साधन चलेका छैनन् । काभ्रेका काउन्टर सबै खुलेका छन् भने अन्य स्थानमा बन्द छन् ।

गण्डकी प्रदेशमा लामो दूरीका सवारी साधन नचलेको, बजारहरु फाट्टफुट्ट चलेको, काउन्टरहरु सबै बन्द रहेको, शैक्षिक संस्थाहरु सबै बन्द रहेको, छोटो दूरीका सवारी साधनहरु बजार एरियामा केही चलेको प्रहरीले जनाएको छ ।

५ नम्बर प्रदेशमा लामो तथा छोटो दूरीका सवारीसाधन नचलेको, काउन्टरहरु सवै बन्द रहेको, शैक्षिक संस्था फाट्टफुट्ट चालु रहेको, बजार, पसल र होटल खुलेका र अन्य व्यवसाय बन्द रहेका छन् ।

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा लामो दूरीका सवारी साधन नचलेको, काउन्टरहरु सबै बन्द रहेको, कालिकोट र हुम्लामा शतप्रतिशत खुला रहेको अन्य जिल्लाहरुमा फाट्फुट्ट चलेको, शैक्षिक संस्थाहरु बिहान खुलेको बताइएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा रात्री चलेका सवारी साधनहरुलाई स्कर्टिङ गरी गन्तव्य स्थानतर्फ लगेको, लामो दूरीका सवारी साधनहरु नचलेको, लोकल पनि नचलेको, काउन्टरहरु सबै बन्द रहेको, शैक्षिक संस्थाहरु फाट्टफुट्ट चलेको, बजार चिया पसल र होटल खुल्ला रहेको अन्य बन्द रहेको प्रहरीले जनाएको छ ।

 

देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् । यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् ।

यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद  वस्तु राखिएको पाइएको छ।  अन्य शंकास्पद बस्तु भने  नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ । प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ ।  यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ । 

Loading...