विप्लवका सर्लाही इन्चार्जको मृत्युबारे गृहमन्त्रीले खोले मुख, संसदीय समितिमा बादलले दिए बयान

काठमाडौं । सांसदहरुले जवाफ माग गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा प्रहरीको जवाफी कारवाहीमा विप्लवका सर्लाही इन्चार्ज मारिएका जिकिर गरेका छन् । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको उनले जिकिर गरे ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतवार पुर्व गृहमन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकर लगायत सांसदहरुले दोहोरो झडप नभएको भनी आशंका व्यक्त गर्दै गृहमन्त्रीको जवाफ मागेपछि सोमवार उनलाई घटनाबारे जानकारी दिन उपस्थित गराइएको थियो ।

गृहमन्त्री थापाले विहीवार दिउसोको समयमा सर्लाहीमा भएको उक्त कारवाहीमा प्रतिबन्धित पार्टीका अर्का एकलाई पनि गोली लागेको जानकारी दिए । ”असार ५ गते अन्दाजी २ बजे सर्लाहीको लालबन्दी–१ लखनदेही स्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर दक्षिण बाटोमा प्रहरीको गस्तीको सिलसिलामा एउटा नम्बर नलेखिएको मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चारजना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीतर्फ लक्षित गरी आफूहरुसँग भएको हतियार प्रयोग गरी फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट बरामद गरिएको कागजपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका वडा नं २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।” उनले भने । गृह मन्त्री थापाले अन्य ३ जना भाग्न सफल भएका र उनीहरुको खोजी भैरहेको भनेका छन् ।

लालबन्दी र हरिवनका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी र सर्वसाधारण व्यक्तिहरुसंग जबरजस्ती चन्दा माग्ने र चन्दा नदिएमा ज्यान मार्ने धम्की दिदै आतंक सिर्जना गर्न विप्लव समूह सक्रिय रहेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती निरगानी बढाउदा यो स्थिति आएको गृहमन्त्रीले समितिमा जानकारी गराएका छन् । प्रहरीले मारिएका व्यक्तिको साथमा परिचय पत्र भेटेपछि मात्र मृतक सर्लाही इन्चार्ज कुमार पौडेल भएको पहिचान गरिएको गृह मन्त्रीले दावी गरे ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतवार पुर्व गृहमन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले सर्लाही घटनामा कुमार पौडेललाई मुडभेडका नाममा हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएकोर यस्तो काम राज्यले गर्न नपाउने भन्दै गृह मन्त्रीको जवाफ मागेका थिए भने प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले सर्लाही घटना, विधेयक लगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने माग गरेका थिए ।

समितिकी सभापति शशी श्रेष्ठले पहिले गृमन्त्रीलाई बोलाइने र आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाइने बताएकी थिइन् ।

को हुन् कुमार

सर्लाही जिल्ला बागमती नगरपालिकाको वडा नम्बर २ धरहरा घर भएका पौडेल नेपाली काङ्ग्रेस, तत्कालिन नेकपा एमाले, चुरेभावर, माओवादी हुँदै पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा रही जिल्ला इन्चार्जको भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेतृत्वमा केहि महिना अघि धरहरामै रहेका सुकुम्बासीले बस्ती हटाउने विषयमा गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाएको थियो । त्यतिबेला कुनै मानवीय क्षती भने भएको थिएन ।तेक्वान्दोमा ब्ल्याक बेल्ट पूर्व खेलाडी समेत रहेका पौडेल निडर स्वभावका थिए । उनलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

भिडन्त वा हत्या

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक वर्वरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले र शुक्रवार महासचिव विप्लवले बिज्ञप्ती जारी गर्दै पौडेललाई शहिद घोषणा गर्नुका साथै सरकारको राज्यआतङ्क र हत्याको बदला लिने समेत चेतावनी दिएका छ्न् ।

झडममा नभई सिन्धुली जाने क्रममा साथीहरुलाई पर्खेर बसि रहेको अबस्थामा लालबन्दी- १ हिरापुर चन्द्रपुर जंगलबाट उनलाई गिराफ्तार गरि सुनियोचित तरिकाबाट हात भाचेर कंचटमा गोलि हानी हत्या गरेको परिवारले आरोप लगाएका छन ।

आफ्नो भाइलाई गैर कानुनी ढंगले गिरफ्तार गरेर सुनियोचित तरिकाले ह्त्या को बाट कसरि भयो आफूहरुलाई एक एक थाँहा भएकोभन्दै आफूहरु कानुनी उपचारको लागि किटानी जाहेरीसमेत दिने तयारीमा रहेको मृतक कुमारकी दिदी लक्ष्मी पौडेलले ननस्टपखबरसंग खुलासा गरेकी छन ।

Loading...