सर्लाही जिल्ला इन्चार्जको ज्यान गएपछि बदला लिने विप्लव नेकपाको चेतावनी : हेर्नुस विज्ञप्ति

सर्लाही । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले बिज्ञप्ती जारी गर्दै पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएका हुन् ।

दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा जिल्ला इन्चार्ज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको बिज्ञप्तीमा भ्हनिएको छ ।

विज्ञप्तिमा यो घटना गैरन्यायिक हत्या भएको भन्दै विरोध र भत्र्सना गरिएको छ भने सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिको माध्यम लिने जनाएको छ ।

पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई सहिद घोषणा गरेका छन् । इन्चार्ज अरुणले परिवारजन र पार्टी पंक्तिप्रति समवेदना प्रकट गरेका छन् । उनले बलिदानीलाई खेर जान नदिने समेत बताएका छन् ।

‘हाम्रो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हामी शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरि छाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ ब्युरो इन्चार्ज अरुणले बिज्ञप्तीमा भनेका छन ।

हेर्नुस विज्ञप्ति

 

 

को हुन् मृतक पौडेल

सर्लाही जिल्ला बागमती नगरपालिकाको धरहरा घर भएका पौडेल नेपाली काङ्ग्रेस, तत्कालिन नेकपा एमाले, चुरेभावर, नेकपा (माओवादी क्रान्तिकारी) हुँदै पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा प्रवेश गरि जिल्ला इन्चार्चको भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेतृत्वमा केहि महिना अघि धरहरामै रहेका सुकुम्बासीले बस्ती हटाउने विषयमा गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाएको थियो । त्यतिबेला कुनै मानवीय क्षती भने भएको थिएन । पूर्व खेलाडी समेत रहेका पौडेल निडर स्वभावका थिए । उनलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

रहेनन् पौडेल

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ ।

लालबन्दी नगरपालिका–१, जंगलबाट लखन्देही खोलातर्फ २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए । ”अरु ३ जना भने भागेका छन् ।” पोख्रेलले भने ।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको र झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिए ।

विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ । मृतक पौडेलको शव अहिले पोष्ट्मार्टम को लागि जिल्ला अस्पताल मलंगवामा लगिएको छ ।

भिडन्त वा हत्या

प्रहरीले पौडेलको भिडन्तमा ज्यान गएको जिकिर गरिरहदा विप्लव नेतृत्वको नेकपाका एक केन्द्रिय नेताले भने यसलाई सरकारको नियोजित षड्यन्त्र भएको आरोप लगाएका छन । सुरक्षा निकायमाथि आक्रमणको पार्टीमा कुनै योजना नभएको जिकिर गर्दै नक्कली भिडन्तको नाउँमा राज्यले आफ्नो एक होनहार नेताको हत्या गरेको उनको आरोप छ । पौडेलको ज्यान गए संगै सत्तारुढ दलकै नेता कार्यकर्ताले समेत राज्यको रवैयाप्रति आशंका व्यक्त गरेका छन ।  सर्लाहीका स्थानीय नेताहरुले समेत घटनाको सत्यतथ्य छानवीन हुनुपर्ने माग गरेका छन । सत्तारुढ दल नेकपाकै प्रभावशाली नेता मणी थापाले समत असन्तुष्टि जनाउदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन ।” केहि समय यता सुरक्षा निकाय आक्रामक देखिएका छन , जुन राम्रो होइन ।” उनले भनेका छन ।

Loading...