विप्लवका सर्लाही इन्चार्जको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ ।

लालबन्दी नगरपालिका–१, जंगलबाट लखन्देही खोलातर्फ २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए । ”अरु ३ जना भने भागेका छन् ।” पोख्रेलले भने ।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको र झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिए ।

विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ । मृतक पौडेलको शव अहिले पोष्ट्मार्टम को लागि जिल्ला अस्पताल मलंगवामा लगिएको छ ।

को हुन् मृतक पौडेल

सर्लाही जिल्ला बागमती नगरपालिकाको धरहरा घर भएका पौडेल नेपाली काङ्ग्रेस, तत्कालिन नेकपा एमाले, चुरेभावर, नेकपा (माओवादी क्रान्तिकारी) हुँदै पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा प्रवेश गरि जिल्ला इन्चार्चको भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेतृत्वमा केहि महिना अघि धरहरामै रहेका सुकुम्बासीले बस्ती हटाउने विषयमा गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाएको थियो । त्यतिबेला कुनै मानवीय क्षती भने भएको थिएन । पूर्व खेलाडी समेत रहेका पौडेल निडर स्वभावका थिए । उनलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

भिडन्त वा हत्या

प्रहरीले पौडेलको भिडन्तमा ज्यान गएको जिकिर गरिरहदा विप्लव नेतृत्वका एक केन्द्रिय नेताले भने यसलाई सरकारको नियोजित षड्यन्त्र भएको आरोप लगाएका छन । सुरक्षा निकायमाथि आक्रमणको पार्टीमा कुनै योजना नभएको जिकिर गर्दै नक्कली भिडन्तको नाउँमा राज्यले आफ्नो एक होनहार नेताको हत्या गरेको उनको आरोप छ । महासचिव विप्लबले विज्ञप्तिमार्फत यसबारे पार्टीको आधिकारिक धारणा प्रष्ट पार्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।” पौडेलको ज्यान गए संगै सत्तारुढ दलकै नेता कार्यकर्ताले समेत राज्यको रवैयाप्रति आशंका व्यक्त गरेका छन । सत्तारुढ दल नेकपाकै प्रभावशाली नेता मणी थापाले समत असन्तुष्टि जनाउदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन ।” केहि समय यता सुरक्षा निकाय आक्रामक देखिएका छन , जुन राम्रो होइन ।” उनले भनेका छन ।

Loading...