बैठकस्थल घेरा हालेर प्रहरीले गर्यो ठूलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्तालाइ प्रहरीले एकैठाउँबाट पक्राउ गरेकाे छ ।

कास्कीकाे अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाइृ शनिवार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाइृ अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, क्रान्तिकारीकै पीएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटा र आस्था नेपाली लगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले घान्द्रुक क्षेत्रमा केही दिनयता नकेपाको गतिविधि बढेको भन्ने सूचना अाएपछि साेही आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको बताए । उनीहरु पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल ‘क्रान्तिकारी’ को बैठक बसिरहेका बेला पक्राउ परेकाे बुझिएकाे छ । 

नेकपाका नेता कार्यकर्ताहरु उरीमा रहेकाे आमा समूहको भवनमा पार्टीको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर पक्राउ गरेकाे स्थानीयले बताएका छन् । शनिबार अपरान्ह ४ बजेबाट नै प्रहरीले वैठकस्थल घेराबन्दी गरेको थियो । ४ बजेदेखिको घेराबन्दीमा राखेका नेता कार्यकर्तालाई राति १० बजे मात्र जिल्ला प्रहरी कार्यालयबाट थप फोर्स मगाएर गिरफ्तार गरेको स्थानीयले जानकारी दिएका छन् ।

पक्राउ परेका नेता कार्यकर्ताहरुलाइ शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याएर राखिएकाे बताइएकाे छ ।

यसैबीच नेकपा कास्कीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीप्रति घोर आपत्ति जनाएको छ । आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै नेकपा कास्कीका इन्चार्ज रुपेशले हिजो २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरेको भन्दै उनले घोर भत्सर्ना गरेका छन् ।

प्रहरीले १८ जनालाइ मात्र पक्राउ गरेकाे दावी गरिरहेकाे छ भने नेकपाका कास्की जिल्ला इन्चार्ज रुपेशले आफ्ना २२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएका छन् । रुपेशले २२ नेता कार्यकर्तालाई गिरफ्तार गरेर १८ जना मात्रै भन्नु कुनै षड्यन्त्र हुनसक्ने र अन्यलाई बेपत्ता बनाउन सक्ने दावी उनले गरेका छन् । 

Loading...