गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ।
गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई ‘विदेशी प्रतिद्वन्द्वी’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेपछि गुगलले ह्वावेईका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो।
ट्रम्पको उक्त निर्णय विशेषत: चिनियाँ प्रविधि कम्पनीप्रति लक्षित रहेको विश्लेषकहरू ठान्छन्।
ह्वावेई स्मार्टफोन उत्पादनका लागि चिनिएको भए पनि उसले सञ्चारसम्बन्धी अरू उपकरण पनि बनाउँछ।
त्यस्ता उपकरणको बिक्रीमाथि अमेरिकामा प्रभावकारी रूपमा प्रतिबन्ध लगाइए पनि विश्लेषकहरूले विश्वभरि ४० देखि ६० प्रतिशत सञ्जालमा नियन्त्रण गर्ने आकलन गरेका छन्।
एक दशकमा ह्वावेईको व्यापारमा तीव्र वृद्धि भयो
अर्ब अमेरिकी डलरमा आय
Source: Huawei
उसोभए ती देशहरू किन चिन्तित भएका हुन् त?
आरोपहरूको एउटा जटिल शृङ्खलामा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरू, चोरिएको रोबोटिक उपकरण, हीराको जलप लगाइएका बलिया सिसा र इरानसँगको शङ्कास्पद गोप्य सम्झौता रहेका छन्।
फाइभजी: निकै छिटो, तर कति सुरक्षित?
मोबाइल फोन सञ्जालको अर्को क्रान्तिको रूपमा हेरिएको फाइभजी प्रविधि आपूर्ति गर्नका लागि ह्वावेई विश्वभरिका देशहरूसँग छलफलमा छ।
तीव्र गतिको सो प्रविधि चालकबिना चल्ने कार र अन्य धेरै नयाँ प्रणालीमा पनि प्रयोग हुने ठानिएको छ।
कुनै देशको फाइभजी आधारभूत संरचनामा ह्वावेई भए त्यस्तो दूरसञ्चार सञ्जालबाट जासुसी गरेर पछि व्यवधान उत्पन्न गराउन सक्ने दाबी अरू देशहरूको रहेको छ।
अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश आउनुभन्दा अघि नै अमेरिकाले आफ्ना पश्चिमा साझेदारलाई सो चिनियाँ कम्पनीसँग सहकार्य नगर्न दबाव दिने गरेको थियो।
त्यस्तो दबाव अमेरिकाले आफू पनि संलग्न तथाकथित “फाइभ आइज” समूहका यूके, क्यानडा, अस्ट्रेलिया र न्यूजिल्यान्डलाई दिएको थियो। सो समूहका गुप्तचर निकायबीच घनिष्ठ सम्बन्ध छ र उनीहरूबीच विशेषत: गोप्य विद्युतीय सूचना आदानप्रदान हुन्छ।
फाइभजी सञ्जालमा ह्वावेईका उपकरण जडान गर्ने अङ्ग्रेजीभाषी देशसँग त्यस्ता सूचना नबाँड्ने अमेरिकाले बताएको छ।
ह्वावेईको उपकरण आफ्नो सूचनाप्रणालीमा प्रयोग गर्ने देशसँग सूचना नबाँड्ने चेतावनी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएका छन्।
ह्वावेईले बारम्बार आफूले चिनियाँ सरकारका लागि जासुसी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ।
तर आलोचकहरूले गुप्त सूचना नदिए कम्पनी सञ्चालन हुन असम्भव हुनेखालका प्रावधान भएका चिनियाँ कानुनले तिनलाई जासुसी सूचना सङ्कलन गर्न बाध्य पार्ने तर्क गरेका छन्।
ह्वावेईले अमेरिकाले लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै “प्रतिबन्धले अमेरिकालाई केवल निम्न स्तरका सामान र महङ्गा विकल्पमा सीमित बनाउने तथा त्यसले अमेरिकालाई फाइभजी विस्तारमा पछाडि पार्ने र अन्तत: त्यसले अमेरिकी कम्पनी र उपभोक्तालाई नै असर पुर्याउने” चेतावनी दिएको छ।
अमेरिकाले प्रकट गरेको प्रविधिसम्बन्धी जासुसीको त्रास सम्भवत: आंशिक रूपमा उसको आफ्नै व्यवहारका कारण उत्पन्न भएको हुनुपर्छ।
एनएसएका भूतपूर्व परामर्शदाता एड्वार्ड स्नोडेनले अमेरिकी गुप्तचर निकायले वर्षौँसम्म गुगल र याहूसमेत अमेरिकाका प्रमुख प्रविधि कम्पनीसँग सम्बन्धित डेटा ह्याक गरेर इन्क्रिप्शन प्रविधिलाई अवमूल्यन गरिदिने प्रयास गरेको खुलासा गरेका छन्।
कुनै देश किन आफ्नो प्रतिद्वन्द्वी देशमा रहेको कम्पनीप्रति शङ्कालु हुन्छन् भन्ने बुझ्न सजिलो छ।
रोबोटको हात चोरी प्रकरण
तीव्र गतिको वायरलेस नेटवर्क अलि अस्पष्ट लाग्छ। तर ह्वावेईसँग सम्बन्धित एउटा प्रकरण भने स्पष्ट छ।
ह्वावेईका एक इन्जिनियरमाथि रोबोटको हात चोरेको आरोप लाग्यो।
तर टी-मोबाइल नमुना विकास गर्ने प्रयोगशालाबाट निस्किँदा रोबोटको सो भाग दुर्घटनावश खसेको र आफ्नो झोलामा परेको हुन सक्ने उनको दाबी छ।
उपकरणको सो भाग फोनको स्क्रीन परीक्षण गर्न प्रयोग हुन्छ।
त्यतिबेला ह्वावेईसँग सहकार्य गरेको जर्मनीको कम्पनीले त्यसलाई विश्वास गरेन र पछि उनीहरूले अदालतबाहिरै विषयको टुङ्गो लगाए।
अहिले सो प्रकरण फेरि बिउँतिएको छ।
नयाँ इमेलहरूमा ती इन्जिनियरलाई चीनमा रहेका वरिष्ठ कार्यकारीले नै सो उपकरण चोर्न निर्देशन दिएको हुन सक्ने शङ्का व्यक्त गर्दै उनले आफू एक्लैले त्यसो गरेको दाबीप्रति संशय व्यक्त गरिएको छ।
यही सन्दर्भमा ह्वावेईकी प्रमुख वित्तीय अधिकारी मङ वान्जू गत वर्ष क्यानडामा पक्राउ परेकी थिइन्।
इरानसँग दोहोरो सहमति?
मङले उक्त आरोप अस्वीकार गरेकी छन्। उनी अझै पनि अमेरिका सुपुर्दगी हुनबाट जोगिने प्रयास गरिरहेकी छन्।
उनीविरुद्ध लगाइएका अन्य आरोप ह्वावेई र इरानसँग सम्बन्धित छन्।
स्काईकोम नामक कम्पनीमार्फत् इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्ध छल्ने काममा उनी पनि संलग्न भएको आरोप छ।
उनलाई लगाइएको अभियोगमा उनले इरानसँगको व्यापार सम्झौताबारे अमेरिकी सरकार र ब्याङ्कहरूलाई ढाँटेको उल्लेख छ।
ह्वावेईका संस्थापककी छोरी मङले सबै आरोपहरू अस्वीकार गरेकी छन्।
उनी यदि अमेरिका सुपुर्दगी भएर दोषी ठहरिए ३० वर्षसम्म जेलमा बस्नुपर्ने हुनसक्छ।
चकनाचुर स्क्रीन र भङ्ग भएका वाचा
अमेरिकामा ह्वावेईले खेपेको समस्या यति मात्र हैन।
हीराको जलप लगाइएको लगभग अक्षय सिसाको एउटा नमुनाको सम्बन्धमा हतियार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन भङ्ग गरेको आरोपमा एफबीआईले सो प्रविधि कम्पनीमाथि अनुसन्धान गरिरहेको ब्लूमबर्गले जनाएको छ।
यदि तपाईँको मोबाइल फोन खसेको छ भने कति सजिलै त्यसको स्क्रीन फुट्छ र त्यो बनाउन कति महँगो पर्छ भने तपाईँलाई थाहा होला।
अगाडिको भाग नफुट्ने स्मार्टफोन प्रविधि कम्पनीका लागि वरदान नै हो।
अखान सेमिकन्डक्टर इन्क नामक र नयाँ कम्पनी ह्वावेईबीच कडा खालका र कृत्रिम हीराको जलप लगाइएका पातलो सिसा आपूर्ति गर्ने विषयमा छलफल हुँदै थियो।
तर ब्लूमबर्गका अनुसार नराम्रोसँग बिग्रिएको एउटा त्यस्तो मोबाइल महिनौँपछि उत्पादककहाँ फिर्ता गरिएको थियो।
एफबीआईको अनुसन्धानपछि ह्वावेईले त्यस्तो नमुना विश्लेषणका लागि अमेरिकाबाट बाहिर लगेको शङ्का अखान सेमिकन्डक्टर इन्कले गरेको छ।
हीराको जलप लगाइएको त्यस्तो सामग्री लेजर हतियारमा प्रयोग हुन सक्ने हुँदा त्यसलाई अमेरिकाबाहिर लैजान प्रतिबन्ध लगाइएको छ।
ह्वावेईले यी घटनाबारे पृथक् धारणा राखेको छ।
कथा यतिमै सकिँदैन
तर यस्ता प्रकरण, गुगलको पछिल्लो निर्णय र राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश हुँदाहुँदै पनि ह्वावेई विश्वव्यापी रुपमा एउटा प्रमुख प्रविधि कम्पनी हो।
धेरै देश विशेषत: अफ्रिका र एशियामा अमेरिकी र युरोपेली प्रविधिको तुलनामा ह्वावेईले ठूलो बजार बनाएको छ।
ह्वावेईको बिक्री सबै महादेशमा बढेको छ
अर्ब अमेरिकी डलरमा आय
अमेरिकाको साझेदार यूकेमा पनि आफ्नो फाइभजी नेटवर्क विकास गर्न ह्वावेईका उत्पादनहरू प्रयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलेको छ।
ह्वावेईका उपकरण प्रयोग गर्ने किन नगर्ने भन्ने छलफलको कुरा चुहाएको आशङ्कामा ब्रिटेनका रक्षामन्त्री गत महिना पदमुक्त भएका थिए।
चिनियाँ उपकरणलाई गम्भीर सुरक्षाको चासो भएकाबाहेक अन्य क्षेत्रमा प्रयोग गर्न सकिने राष्ट्रिय सुरक्षा परिषद्को छलफलको सूचना चुहाएको आरोपमा उनको पद गुमेको हो।
त्यससम्बन्धी निर्णय अहिले विचाराधीन नै छ र ह्वावेईसँग सम्बन्धित अन्य विषयजस्तै यसको पनि भविष्य अनिश्चित छ।
विविसि नेपालीबाट