प्रहरीले सुरु गर्यो नेवार भाषा सहायता केन्द्र

काठमाडाैं । नेपाल प्रहरीले उपत्यका भित्र रहेका प्रहरी परिसर, वृत्तमा सेवाग्राहीसँग नेपाल भाषा (नेवार भाषा) भाषा बाट नै सेवा दिने भएको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत याे सेवा सुरु गर्न लागेकाे हाे । 

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग नेवा: भोलन्टियर्सका अध्यक्ष मनोज नेवा खड्गी, नेवा: पत्रकार समूहसँग भएको छलफल अनुसार सबैलाई सहजी करण हुने उदेश्य अनुरुप काठमाडौं उपत्यकाका नेवार समुदाय बाहुल्यता रहेका प्रहरी कार्यालयहरुमा आफ्नै मातृभाषामा कुराकानी तथा निवेदन दर्ता गर्न पाउने गरी प्रहरीले याे सेवा सुरु गर्न लागेकाे हाे । 

प्रहरी सचिवालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं इन्टरपोलका प्रमुख उमेशराज जोशीले गतसाता मातहतका सबै कार्यालयहरुमा याे सेवा सुरु गर्न निर्देशन जारी गरिसकिएको जानकारी दिएका छन । 

महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले नागरिकसँग समन्वय गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताउँदै स्थानीय भाषा प्रयोगबाट प्रहरी र नागरिकसँगको सम्बन्ध अझै प्रगाढ बन्ने अाशा राखेकाे बताए । प्रहरीले अरु समुदाय बाहुल्यता रहेकाे ठाउँमा पनि यस्ताे सेवा सुरु गर्न सकिने बताएकाे छ । सुवेदीले आवश्यकता अनुसार अन्य भाषामा पनि सहायता कक्ष विस्तार गर्दै जाने ननस्टपखबरलाइ जानकारी दिए । 

यसैगरी महानगरीय प्रहरी अपराध अनुशन्धान महाशाखा काठमाडाैंका प्रमुख सहकुल थापाले समाजमा शान्ति सुव्यवस्था कायम राख्न स्थानीय मातृभाषामा सेवा दिँदा अझ सकारात्मक हुने र नागरिकसँगको सम्बन्ध राम्रो रहने बताए । यसले प्रहरीकाे काममा विश्वास पनि बढ्ने उनकाे विश्वास व्यक्त गरे । वरिष्ठ प्रहरी उपरीक्षक थापाले प्रहरी संगठन भित्र रहेका नेपाल भाषा जान्ने अधिकारी सहितलाइ जाेडेर सहायता कक्ष स्थापनाका लागि काम थालिने बताए । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम स्रोत ब्यक्तिका रुपमा रहेका मनोज नेवा खड्गीले भाषागत समस्याका कारण बिगतमा केही असहजता अाउने गरेकाे बताए । उनले यो सेवाले प्रहरी र समुदायका बीच आत्मीयता बलियो रही समुदायिक सुरक्षा झनै बलियो हुने र प्रहरीसँग सहयोगी भूमिकामा नजिक हुने विश्वास व्यक्त गरे । 

Loading...